हेटौंडा । हेटौंडा अस्पतालका चिकित्सक आफ्नो ड्युटी समयमा बाहिरी निजि क्लिनिकमा जान नपाउने भएका छन् ।
हेटौंडा अस्पतालमा कार्यरत रहेका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरू निजी स्वास्थ्य संस्थामा कार्य गर्नुपरेमा तोकिएको समय बाहेक अन्य समयमा कार्य मात्रै जान पाउने भएका हुन । नीजि स्वास्थ्य संस्थाहरूमा कार्य गर्ने स्वास्थ्यकर्मीहरूले सम्बन्धित निकायबाट आगामी १० दिनभित्र अनुमति लिएर मात्रै जान पाउने भएका हुन ।
हेटौंडा अस्पतालले तोकेको समय सीमा भित्र अस्पतालकै बिरामी जाँच गर्नुपर्ने तथा अस्पताल समय बाहेक पनि नीजि क्लिनीकमा जानका लागि अनिवार्य रुपमा सम्बन्धीत निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सरोकारवाला निकायबिच भएको छलफल पछिको बैठकले यस्तो निर्णय गरेको थियो ।
बैठकले हेटौंडा अस्पतालले अस्पतालबाट प्रवाह हुने सेवाहरू र सो सेवा प्रदान गर्नका लागि उपलब्ध स्वास्थ्य जनशक्ति, स्वास्थ्य उपचारमा लाग्ने समय र शुल्क सहितको विवरण अस्पताल परिसरमा सबैले देखसक्ने गरी राख्नुपर्ने उल्लेख छ ।
चिकित्सक तथा नर्सहरूको प्रत्येक दिनको डियुटी रोष्टर तयार गरी अस्पतालको सूचना पाटी, फेसबुकपेज र वेबसाईटमा समेत राख्ने व्यवस्था अनिवार्य मिलाउनुपर्ने छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू कुनै कारणवश जरूरी सरकारी काम वा अन्य कारणले बाहिर जानुपर्ने भएमा लग बुक को व्यवस्थापन गरी सोमा जनाउनुपर्ने उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्