हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आजबाट नगरवासीहरुलाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क दिने भएको छ ।
गएको १६ साउनमा बसेको उपमहानगरको कार्यपालिका बैठकले नगरवासीलाई न्युनतम पानी महशुल रकम छुट दिन हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसंग सम्झौता गर्ने निर्णय गरेको थियो । उपमहानगरसँग २३ साउनमा भएको सम्झौता अनुसार आज भदौ १ गतेबाट मासिक १० हजार लिटर खानेपानी निःशुल्क वितरण हुन लागेको खानेपानी बोर्डले जनाएको छ ।
बोर्डले आज पत्रकार सम्मेलन गर्दै हेटौंडामा दैनिक १ करोड ८२ लाख लिटर खानेपानी वितरण हुने गरेको बताउँदै बोर्ड अन्तर्गत संचालनमा रहेको धारा संख्याको आधारमा खानेपानी उपभोग गर्ने उपभोक्तालाई मासिक १० हजार लिटर खानेपानी वितरण हुने जानकारी दिएको छ ।
बोर्डका सदस्य इन्द्र नेपालले उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्तालाई न्युनतम शुल्क ८५ रुपैयाँ, सामुदायिक विद्यालयलाई ७ सय, सामुदायिक क्याम्पसलाई १५ सय र शहरी स्वास्थ्य केन्द्रहरुलाई मासिक ७ सय रुपैयाँ छुट हुने बताए ।
उनले छुट गरेको बापतको रकम मासिक रुपमा प्रत्येक महिनाको ३ गते भित्र उपमहानगरसंग माग गर्ने र उपमहानगरले १० गते भित्र बोर्डलाई रकम उपलब्ध गराउने सहमति भएको बताए ।
खानेपानी बोर्डले उपमहानको १९ वडामध्ये ३,११,१२,१३ र १८ मा उपभोक्ता समितिको कारण सेवा विस्तार गर्न नसकेको जनाउँदै चालु आर्थिक वर्षमा सेवा विस्तारको लागि पहल गर्ने जनाएको छ । बोर्डले हेटौंडा उपमहानगरपालिकामा दैनिक १ करोड ८२ लाख लिटर खानेपानी उत्पादन र वितरण गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले आफ्नो ५ वर्षे कार्यकाल भित्र हेटौंडाको सबै वडाहरुको टोल गाउँहरुलाई बोर्डमा सहभागी गराएर शुद्ध खानेपानी वितरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले उपमहानगरले बोर्डमा आबद्धहरुलाई मासिक १० हजार लिटर खानेपनी निःशुल्क वितरण कार्यको सुरुवात गरेको भन्दै करको शुल्क नबढ्ने तर सबै व्यवसायलाई करको दायरा ल्याइने तयारी गरेको बताइन् । उनले आफ्नो कार्यकालमा नगरको पूर्वाधार विकाससंगै आय बढाउने कार्यहरूलाई अघि बढाउने बताइन् ।












प्रतिक्रिया दिनुहोस्