हेटौंडा । हेटौंडा ४ मा रहेको भूटनदेवी माविको सटर भाडामा दिनेबारे विवाद हुँदा हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल माथि कुटपिट भएको छ ।
विद्यालयको सटर भाडामा दिनेबारे विवाद हुँदा सिग्देलमाथि एमाले जिल्ला सदस्य सानुलामा दोङले कुटपिट गरेका हुन् । कुटपिट गरेर दोङ फरार भएका छन् । भुटनदेवीको सटर भाडामा दिनेबारे लामो समयदेखि चर्चा हुँदै आएको छ ।
नेकपा एमाले मकवानपुर जिल्ला सचिवसमेत रहेका सिग्देलमाथि मंगलबार दिउँसो एमालेकै जिल्ला सदस्यले हेटौंडा ४ हुप्राचौरस्थित कार्यकक्षमै कुटपिट गरेका हुन् । आफू कुटिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवश्यक कारबाहीका लागि सिग्देलले उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले सानु लामा दोङले आफूमाथि कुटपिट गरेको भन्दै वडा अध्यक्ष सिग्देलले उजुरी दर्ता गरेको बताए ।
‘उजुरी दर्ता गरेलगत्तै प्रहरीले सानु लामा दोङलाई पक्राउ गर्न खोजी गरेको थियो । उनको मोबाइल अफ छ, घरमा हुनुहुन्न । हामीले खोजी गरिरहेका छौं ।’ प्रवक्ता कार्कीले भने, ‘उनीहरुको पार्टीगत कुरा रहेछ । आफूमाथि हातपात भएकाले कारबाहीको माग गर्दै वडाध्यक्षले उजुरी दिएका छन । कुटपिट गर्ने लामालाई हामी खोजिरहेका छौं ।’
वडाध्यक्ष सिग्देलले आफूमाथि कुटपिट हुनु गलत भएको प्रतिक्रिया दिएका छन् । ‘म धेरै कुरा गर्न चाहन्नँ, ममाथि कुटपिट भएको छ, मैले उजुरी गरिसकेको छु, कानुनबमोजिम कारबाही हुनुपर्छ,’ सिग्देलले भने ।
के हो त भूटनदेवी माविको सटर प्रकरण ?
हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा रहेको पुरानो बिद्यालय भूटनदेवी माविको सटर प्रकरणले अहिले बजार तातेको छ । ठेकेदारले सस्तोमा लिएर उपभोक्ता संग महङगो भाडा असुलेका छन् । धरौटी रकममा समेत ठेकेदारले २० लाख बढी असुलेको तथ्याङक छ ।
बिद्यालयले सटर कबलका लागि सूचना आव्हान गर्दा भैरवरोड र पारिजातपथको प्रति सटर न्यूनतम मुल्य फरक फरक तोकेपनि सटर कबल भाडामा लगाउने बेलामा एकमुष्ट हिसावले काठमाडौंको पाख्रिन निर्माण सेवालाई ठेक्का दिएको देखिन्छ ।
स्रोतका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष तथा भूटनदेवी मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्वा दोर्जेलामाको निकट व्यक्तिलाई ठेक्का पारिएको उल्लेख छ । कमिशन तथा आर्थिक चलखेल भएको आशंका आम जन समुदायले गरेका छन् ।
भूटनदेवी माविको साउन ५ गते प्रकाशित सूचना अनुसार ४० वटा सटरको एकमुष्ट ३ लाख ८९ हजार ९४० रुपियाँमा पाख्रिन निर्माण सेवा काठमाडौंलाई दिईएको छ । बिद्यालयले प्रति सटर ९ हजार ७४८ रुपियाँका दरले प्रति सटर भाडामा दिईएको छ भने ठेकदारले २२ हजारदेखि १० हजार ५ सय सम्ममा ठेक्कामा लगाएको देखिन्छ । औषतमा हेर्दा बिद्यालयले प्रति सटर ९ हजार ७४८ मा ठेकदारलाई दिइएको र १३ हजार ३७५ भाडामा लगाईएको देखिन्छ । प्रति सटर ३ हजार ६२६ रुपियाँ बिद्यालयलाई घाटा भएको देखिन्छ । त्यस्तै नयाँ सटर लिनका लागि ४० वटा सटरको प्रति सटर ५० हजारका दरले २० लाख धरौटी रकम बिद्यालयलाई घाटा भएको देखिन्छ ।
भूटनदेवी माध्यामिक बिद्यालयको ७३ वटा सटर मध्ये ३० वटा सटर सार्वजनिक खरिद ऐन विपरित टेण्डन नै नगरि भाडामा लगाइएको छ भने ४० वटा सटर काठमाडौंको पाख्रिन निर्माण सेवालाई दिइएको छ । ३ वटा सटर भूटनदेवी माध्यामिक बिद्यालयका शिक्षक÷शिक्षिकालाई दिने निर्णय भएको बिद्यालयका प्रधानाध्यापक माधव प्रसाद दाहालले जानकारी दिए ।
भूटनदेवी माविले निर्माण गरेको भैरव रोड तर्फको ३० वटा र पारिजात तर्फको १० वटा गरी एकमुष्ट ४० वटा सटरकबल भाडाका लागि असार २३ गते सूचना प्रकाशित गरेको थियो । सूचना अनुसार भैरव रोडको प्रति सटर न्यूनतम रकम मासिक ७ हजार रुपियाँ र पारिजात पथ अन्र्तगतको १० वटा सटर सटर न्यूनतम मासिक १५ हजारका दरले बडाबढको लागि सूचना निकालेको थियो ।
४० वटा सटरकबल भाडामा लिनका लागि पशुपति सप्लायर्स, शुभलक्ष्मी ट्रेडर्स, पाख्रिन निर्माण सेवा र दाजुभाई स्विट्स एण्ड फाष्टफुडले भाडामा लिन इच्छा देखाएकोमा बडाबढमा पाख्रिन निर्माण सेवालाई सटर कबल भाडामा दिइएको बिद्यालयले जनाएको छ । भैरव रोडको पूर्व र पारिजात पथ पश्चिम तर्फको ४० वटा सटर पाख्रिन निर्माण सेवाले ३ लाख ८९ हजार ९४० मा कबोल गरेको थियो ।
मूल्याङ्कन समितिको सिफारिस तथा बिद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सार्वजनिक खरिद ऐन २०६३ को २७ उपदफा (२) र (३) को प्रयोजनार्थ सटरकवल भाडामा लगाउने निर्णय भएको थियो ।
यसअघिको ३० वटा सटरको भाडा वापत कर सहित प्रति सटर १४ हजार ६ सय ३० रुपियाँ लिइएको छ । प्रत्येक दुई बर्षमा करार सम्झौंतामा १५ प्रतिशत थप गरेर भाडा लिने गरिएको छ । ७३ वटै सटरकबल भाडामा लाग्दा बिद्यालयलाई मासिक रुपमा १० लाख माथि आम्दानी हुने बिद्यालयका प्रअ दाहालले जानकारी दिए ।
२०७९ साउन सम्म सटर भाडा वापत बार्षिक ५२ लाख ६६ हजार आम्दानी गर्दै आईरहेको बिद्यालयले भदौंबाट ७३ वटा सटर भाडावापत बार्षिक रुपमा करिव १ करोड २० लाख रुपियाँ आम्दानी गर्नेछ ।
स्रोतका अनुसार बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामाले ठेकेदार संग मिलेर ठेक्कामा दिएको रकममा पनि छुट गराएर ठेकेदारलाई सस्तोमा सटर दिन थालिएको छ । अध्यक्षकै तजबिजमा ठेकेदारले कबल गरेको रकममा पनि छुट गराउन थालिएको स्रोतको दाबि छ ।












प्रतिक्रिया दिनुहोस्