हेटौंडा । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा हुने घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै केन्द्रीयस्तरका नेताहरूको चहलपहल जिल्लामा बढ्न थालेको छ । अरू समय बिरलै मात्र गाउँमा भेटिने नेताहरू निर्वाचनको समय नजिकिँदै जाँदा पार्टीका विभिन्न कार्यक्रमहरूमा व्यस्त हुन थालेका छन् ।

सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरिसकेको छ । सीट बाँडफाँडका लागि उसले कार्यदल समेत बनाइसकेको छ ।

गठबन्धन साझेदार दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एउटै घोषणापत्र लिएर निर्वाचनमा होमिने तयारीमा छन् ।

केन्द्रदेखि जिल्लासम्म चुनावी माहोल तात्दा बागमती प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुर पनि त्यसबाट अछुतो छैन । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर २ मा नेताहरूको तयारी हेर्दा टिकटकै लागि रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

मकवानपुर क्षेत्र नं. २ : गठबन्धनभित्र उम्मेदवार छनोटमा सकस

गत निर्वाचनमा एमाले विजयी भएको सो क्षेत्रमा मंसिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभा प्रत्यक्षतर्फ ५ जना आकांक्षी छन् ।अघिल्लोपटक एमालेबाट जितेर हाल एकीकृत समाजवादीमा रहेका पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडा, नेपाली कांग्रेसका तर्फबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), माओवादी केन्द्रका तर्फबाट रामनारायण बिँडारी र नेकपा एमालेबाट केन्द्रीय सदस्य रामेश्वर राना एवं बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौला आकांक्षी छन् ।

उक्त क्षेत्रमा ०४६ सालपछि भएका सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको छ । २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा खतिवडा स्वयं विजयी भएका थिए । गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रही विजयी भएका खतिवडा नेकपा एमाले विभाजन भएसँगै नेकपा एसमा छन् ।

तत्कालीन समयमा नेता खतिवडाले ४६ हजार ४८१ मत प्राप्त गर्दा कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् । खतिवडा १२ हजार ३९१ मतको फराकिलो अन्तरले विजयी भएका थिए ।

उक्त निर्वाचन क्षेत्रबाटै नेकपा माओवादी केन्द्रका तर्फबाट रामनारायण बिडारीले पनि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनावमा लड्ने आकांक्षा व्यक्त गरेका छन् ।

०४८ सालको निर्वाचनमा उक्त क्षेत्रमा उम्मेदवार बनेर पराजित भएका उनी हाल राष्ट्रिय सभाका सदस्य समेत रहेका छन् । कांग्रेस सहमहामन्त्री डिना पनि प्रतिनिधिसभा सीट नछाड्ने पक्षमा छिन् । गठबन्धनभित्रै केन्द्रीय राजनीतिमा प्रभाव रहेका ३ नेता आमनेसामने भएका छन् । कसले टिकट पाउँछ भन्ने यकिन भइसकेको छैन ।

विरोध खतिवडाको नाम पार्टीबाट अगाडि बढ्यो, कांग्रेस–माओवादीमा छटपटी

केन्द्रीय राजनीतिमा प्रभाव राख्ने नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व स्वास्थ्यमन्त्री खतिवडालाई प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ को उम्मेदवार बनाउन जिल्ला कमिटीमा सिफारिश भइसकेको छ ।

एकीकृत समाजवादीले खतिवडाको नाम अगाडि सारेपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा छटपटी बढेको देखिन्छ ।

गत निर्वाचनमा नेकपा एमाले र माओवादीको चुनावी तालमेल हुँदा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ खतिवडालाई छाडेको थियो । नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान प्रदेश सभा निर्वाचनमा होमिएकी थिइन् ।

अघिल्लोपटक कांग्रेसले एउटा क्षेत्रमा राप्रपाका कमल थापालाई सघाएको थियो भने अर्को क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको थियो । कांग्रेस–राप्रपा तालमेल तत्कालीन वाम गठबन्धनलाई पछाडि पार्न असफल रह्यो ।

सोही कारण पनि कांग्रेस जुनसुकै हालतमा मकवानपुरमा कमब्याक गर्न चाहन्छ । माओवादीले पनि यसपटक प्रतिनिधि सभा क्षेत्र छाड्न चाहेको छैन ।

जिल्लामा आ–आफ्नो दाबी भए पनि केन्द्रकै निर्णय लागू हुने गठबन्धनका नेताहरू बताउँछन् । सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि कृष्ण सिटौला नेतृत्वको कार्यदलले काम गरिरहेको छ ।

एमाले आफ्नो गढ जोगाउने रणनीतिमा

मंसिर ४ मा हुने निर्वाचनमा मकवानपुरमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा एमालेका २ नेताले आकांक्षा देखाएका छन् ।

एमालेको केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर राना र बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौलाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने आकांक्षा देखाएका हुन् । राना एमालेभित्र स्वच्छ छवि भएका भएका पाका नेताका रूपमा चिनिन्छन् भने बर्तौला विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा आएका नेता हुन् ।

गत स्थानीय निर्वाचनबाट पार्टीभित्र पनि युवालाई अवसर दिनुपर्छ भन्दै दबाब बढेकाले बर्तौलाको सम्भावना बढेको छ । एमाले र माओवादीको गठबन्धन हुँदा २०७४ को निर्वाचनमा सो क्षेत्रमा पर्ने मकवानपुरको राक्सिराङ गाउँपालिकाबाहेक अन्य सबैमा एमाले र माओवादी केन्द्रको गठबन्धनकै बर्चस्व रहेको थियो ।

राक्सिराङमा कांग्रेसले नेतृत्व लिँदा थाहा नगरपालिकामा माओवादी केन्द्र र अन्य सबैमा एमाले विजयी भएको थियो । उक्त गठबन्धन लामो समय टिक्न नसक्दा र एमालेभित्रैबाट माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन हुन पुग्यो । त्यसको असर ०७९ को स्थानीय निर्वाचनमा देखिन पुग्यो । २०७४ मा एमाले विजयी भएको क्षेत्रमा समेत हालको सत्तारुढ गठबन्धन हावी हुन पुग्यो ।

२०७९ को निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष र इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा मात्र एमालेले जितेको छ । दलहरूको एकल मत हेर्दा भने एमाले अगाडि देखिन्छ ।

उक्त क्षेत्रमा एमालेले ३६ हजार ८६६ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले ३४ हजार २४०, नेकपा माओवादी केन्द्रले २२ हजार ६ सय ७ र नेकपा एकीकृत समाजवादीले २ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा थाहा नगरपालिका तथा मनहरी, कैलाश, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका पर्छन् । साथै हेटौंडा उप–महानगरपालिकाको पश्चिमतर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको उत्तरतर्फका वडाहरू ५, ६, ७, ८ पनि यही क्षेत्रमा पर्छन् ।
सरोज पौडेल/लोकान्तर