हेटौंडा । चुनावको मिति नजिकिए संगै मकवानपुरको बकैया र बागमती गाउँपालिकामा वैकल्पिक शक्तिको रुपमा स्थापना हुन अघि बढिरहेको लौरो अभियानले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ ।

प्रत्येक मतदाताको घर घरमा पुगेर त्यहाँको समस्या, जनताको अवस्था र आगामी दिनमा उनीहरुको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर लौरो अभियानका उम्मेद्वार घर घरमा पुगेर चुनावी प्रचार प्रसार तथा जनताको पिर मर्का बुझेका हुन् ।

लौरो चुनाव चिन्ह लिएर युवाको प्रतिनिधित्व गर्दै मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेद्वारी दिएका दिपेन्द्रचन्द ठकुरीले पूर्वी मकवानपुर सहित समग्र मकवानपुरवासीको समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको बताए । उनले व्यवस्थाहरु परिर्वतन भएपनि जनताको अवस्था सधैं उस्तै रहेकाले अब जनताको अवस्था सुधार गर्ने गरि काम गर्ने बताए । पूर्वी बकैया र बागमती विकासको सूचकहरुमा धेरै पछाडि रहेकाले आम मतदाताको साथ पाए उनीहरुको जिवन स्तर सुधार गर्ने प्रतिवद्धता जनाए ।

मकवानपुर क्षेत्र नम्बर–१ को (क) बाट उम्मेद्वारी दिएका किशोर रानाले बकैया, बागमतीमा कृषि पेशमा निर्भर धेरै रहेकाले यहाँको स्थानीयलाई कृषि कर्मका लागि बेलैमा मल, बिउ, सिचाई र कृषि उत्पादन तथा बजारीकरणका लागि सक्दो पहल गर्ने बताए ।

बकैया गाउँपालिका वडा नं. ५ पावस, कर्मचुली, वडा नं. ६ जुईना, वडा नं. ७ अधेरी तथा बागमती गाउँपालिका वडा नं.५ स्थित भोर्लेनी र वगेरीका आम मतदाताहरुलाई भेटेर लौरो अभियान बारे घरदैलो कार्यक्रम गरेका थिए । लौरो चुनाव चिन्ह लिएर मतदाता माझ पुगेका उम्मेद्वारहरुलाई जनताले साथ दिने बाचा गरेका थिए । कार्यकर्ताको झुण्ड नलिई घर–घर पुगेका लौरो अभियानकर्मीहरुलाई स्थानीय जनताले स्वागत मात्रै गरेनन्, ठुला दलका नेताहरुलाई पटक पटक जिताएर पठाएपनि चुनाव सकिए पश्चात कहिल्यै गाउँ नर्फकेकोमा आक्रोश पनि व्यक्त गरेका थिए ।

मकवानपुर क्षेत्र नम्बर–१ मा दिपेन्द्रचन्द ठकुरीले उम्मेदवारी दिएर चुनावी अभियानलाई अहिले तिब्रता दिएका छन भने क्षेत्र नम्बर– १ को (क) किशोर राना र (ख) बाट किशोर अर्यालले उम्मेदवारी दिएर जनताको घर घरमा पुग्ने अभियानलाई तिव्रता दिएका छन् ।