हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सरोकारवाला निकायले निर्वाचन आचारसंहिता लागु गर्न पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्ने तयारी गरेका हुन् । यसअघि निर्वाचन आचार संहिताको खासै पालना नभएको र अवका दिनहरुमा यसको पालना गराउनका लागि आफुहरु लागिपर्ने सरोकारवला निकायको भनाई छ ।

मकवानपुरका पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले निर्वाचन आचार संहिता पालना गराउनका लागि आफुहरु प्रतिवद्ध रहेको बताए । कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख रमेश अर्यालको नेतृत्वमा आचारसंहिता अनुगमन समिति समेत बनाएर काम गरिएको उनको भनाई छ ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले आचारसंहिता जानेर वा नजानेर उलंघन गरेको पाइएमा अनुंगमन गर्ने र कार्बाहीका लागि आयोगमा लेखेर पठाउने बताए । निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आफुहरु लागिपरेको उनको भनाई छ ।

निर्वाचन आयोगको आयोजनामा निर्वाचन आचारसंहिताका विषयमा मकवानपुरका पत्रकारहरुसंग अन्तरक्रिया गरिएको छ । चुनावको समयमा सञ्चारकर्मी र सञ्चारक्षेत्रले खेल्नुपर्ने भूमिकाका विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्वनाथ पोख्रेलले निर्वाचनको आचारसंहिता तथा राष्ट्रिय समाचार समिति मकवानपुरकी अन्जली थापाले निर्वाचनमा मिडिया र पत्रकाको भूमिका बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।