हेटौँडा । स्थानीयस्तरमै प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित बागमती विश्वविद्यालय अन्तर्गतको हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि ६ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्याम्पसले शुक्रबार पत्रकार सम्मेलन गरी सूचना प्रविधि, व्यवस्थापन, कानुन, होटल व्यवस्थापन तथा शिक्षा संकायअन्तर्गत आधुनिक तथा रोजगारमुखी कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

क्याम्पस प्रमुख डा.देवचन्द्र मानन्धरका अनुसार हेटौँडा क्याम्पसमा बि.आई.टी., बि.बि.ए., पाँचवर्षे बि.ए.एल.एल.बि., तीनवर्षे एल.एल.बी., बि.एच.एम.तथा बि.एड. कार्यक्रम सञ्चालन गरिनेछ । डिजिटल युगअनुसार तयार गरिएको बि.आई.टी. कार्यक्रममार्फत सफ्टवेयर निर्माण, डाटाबेस व्यवस्थापन, नेटवर्किङ तथा साइबर सुरक्षासम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिने क्याम्पसले जनाएको छ । अध्ययनपछि विद्यार्थीले सफ्टवेयर इन्जिनियर, वेब डिजाइनर, आईटी प्राविधिक तथा साइबर सुरक्षाविज्ञका रूपमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने क्याम्पस प्रमुख मानन्धरले बताए ।

त्यस्तै, बि.बि.ए. कार्यक्रममार्फत नेतृत्व क्षमता, व्यवस्थापन सीप तथा व्यावसायिक रणनीति विकास गराइने जनाइएको छ । बैंक तथा वित्तीय संस्था, उद्योग–व्यवसाय, बजार व्यवस्थापन र मानव संसाधन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको क्याम्पसले जनाएको छ ।

कानुन तथा न्याय प्रशासन क्षेत्रमा रुचि राख्ने विद्यार्थीलाई लक्षित गर्दै बि.ए.एल.एल.बि.र एल.एल.बी. कार्यक्रम सञ्चालनको तयारी गरिएको प्रमुख मानन्धरले जानकारी दिए । यी कार्यक्रमले अधिवक्ता, न्यायाधीश, कानुनी सल्लाहकार तथा सरकारी सेवाका लागि आवश्यक जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । एलएलबीको अध्यापन सुरु भईसकेको छ ।

होटल तथा पर्यटन क्षेत्रको बढ्दो सम्भावनालाई ध्यानमा राख्दै बि.एच.एम. कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । यस कार्यक्रममार्फत होटल सञ्चालन, अतिथि सत्कार, खाना तथा पेयपदार्थ सेवा, हाउसकिपिङ तथा कुलिनरी आर्टसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने क्याम्पसले जनाएको छ । शिक्षा संकायअन्तर्गत सञ्चालन हुने बि.एड. कार्यक्रमलाई पनि आधुनिक तथा प्रविधिमैत्री बनाइने भएको छ । आईटी कोर्ष समावेश गरिएको नयाँ ढाँचाको कार्यक्रममार्फत विद्यार्थीलाई शिक्षणसँगै प्राविधिक तथा व्यावसायिक ज्ञान प्रदान गरिने प्रमुख मानन्धरले बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले आर्थिक रूपमा बाहिर गएर अध्ययन गर्न नसक्ने विद्यार्थीलाई समेत सहज पहुँच हुने विश्वास व्यक्त गरे । उनले नयाँ शैक्षिक कार्यक्रमले हेटौँडालाई शिक्षा, प्रविधि तथा व्यावसायिक अध्ययनको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेश गौरव आयोजनाका रूपमा रहेको बागमती प्रदेश विश्वविद्यालयले आफ्ना शैक्षिक गतिविधि सञ्चालनका लागि हेटौँडा क्याम्पससहित ६ वटा आङ्गिक क्याम्पससँग सम्झौता गरेको छ ।