हेटौँडा । यात्रुले सवारीसाधनबाट जथाभावी प्लाष्टिकजन्य फोहर फाल्न थालेपछि हेटौँडा–काठमाडौँ सडकखण्ड प्रदूषित बन्दै गएको छ । चाउचाउ, चिप्स, गुड्खा, पानी, जुसका बोत्तल, प्लाष्टिक कप र विभिन्न खाद्य सामग्रीका खोल सडक किनारामा फ्याकिदा वातावरण प्रदुषित हुँदै गएको छ । सङ्घीय राजधानी काठमाडौंलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने छोटो दूरीका सडक कालोपत्रे तथा स्तरोन्नति भएसँगै सवारीसाधन र यात्रुको चाप बढ्दा सडक किनारामा फोहर पनि बढ्न थालेको हो ।
हेटौँडा–काठमाडौँका यात्रु बालकृष्ण दाहालले पछिल्लो समय सडक क्षेत्रमा प्लाष्टिकजन्य फोहर बढेको बताउनुभयो । “पहिले यस्तो फोहर धेरै देखिँदैनथ्यो, अहिले दैनिकजसो प्लाष्टिक र बोत्तल सडकभरि देखिन्छ,” उनले भने । सडक किनारामा डस्टबिनको व्यवस्था नहुँदा समस्या थप बढेको उनको भनाइ छ ।
हेटौँडा–काठमाडौँ सडकखण्डमा सवारी चलाउँदै आएका चालक विवेक न्यौपानेले यात्रुलाई जथाभावी फोहर नफाल्न आग्रह गर्ने गरिएको बताए । “यात्रुले झ्यालबाटै फोहर फाल्ने गर्छन्, रोक्न खोज्दा पनि सबैले मान्दैनन्,” उनले भने ।
वातावरणविद् डा. बलराम भट्टले सडक किनारामा फालिने प्लाष्टिकजन्य फोहर अन्ततः खोल्सा तथा नदीमा पुगेर दीर्घकालीन वातावरणीय समस्या निम्त्याउनेमा चिन्ता व्यक्त गरे । उनले सवारी चालक, सहचालक तथा सडक आसपासका व्यवसायीलाई वातावरणसम्बन्धी जनचेतनामूलक तालिम आवश्यक रहेको उल्लेख गरे । “यात्रुलाई निश्चित स्थानमा फोहर व्यवस्थापन गर्न प्रेरित गर्न सकिन्छ,” उनले भने, “स्थानीय तहले पनि सडक क्षेत्रमा छुट्टाछुट्टै डस्टबिन राख्न आवश्यक छ ।”
बागमती प्रदेशसभा सदस्य तथा उद्योग, पर्यटन तथा वातावरण समिति सदस्य भारतीकुमारी पाठकले सडक क्षेत्रमा बढ्दो प्लाष्टिकजन्य फोहर न्यूनीकरणका लागि स्पष्ट नीति आवश्यक रहेको बताइन् । प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय गरेर जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
राप्ती सरसफाइ अभियान्ता अपिल घिमिरेले व्यक्तिगत व्यवहार सुधार नगरेसम्म फोहर न्यूनीकरण सम्भव नहुने बताए । “मेरो खल्ती नै मेरो डस्टबिन हो भन्ने सोचको विकास हुन आवश्यक छ,” उनले भने । उनले यात्राका क्रममा प्रयोग हुने प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउन पनि सुझाव दिए ।
भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले सडक क्षेत्रमा प्लाष्टिकजन्य फोहर बढ्दो समस्या बन्दै गएको स्वीकार गरे । यात्रुले फालेका प्लाष्टिकका कारण सडक किनाराका बस्तीसमेत प्रभावित भएको उनले बताए । यात्रुले वान्ता सहितको प्लाष्टिक सवारी साधनको झ्यालबाट बाहिर फ्याक्दा छडक छेउको घरभित्रै पनि आएको स्मरण गर्दै पालिका अध्यक्ष लामाले यो एक समस्याको रुपमा रहेको उल्लेख गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्गबाट दैनिक करिब १ हजार ३ सय सवारीसाधन आवतजावत गर्ने गरेका छन् । उहाँले ठूला सवारीसाधनमा डस्टबिन राख्ने व्यवस्था भए पनि साना तथा निजी सवारीसाधनमा त्यस्तो व्यवस्था नभएको बताए ।
मकवानपुर हुँदै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीका भैँसे–भिमफेदी–कुलेखानी–फाखेल–फर्पिङ तथा भैँसे–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पछिल्लो समय प्लाष्टिकजन्य फोहर बढी देखिन थालेको स्थानीयको भनाइ छ । यात्रु सन्दीप सापकोटाले सडक क्षेत्रमा फोहर व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान पर्याप्त रूपमा जान नसकेको आरोप लगाए । उनका अनुसार केही स्थानमा होटल व्यवसायीले प्लाष्टिकजन्य फोहर जलाउने गरेका कारण थप वातावरण प्रदुषण भएको छ ।












प्रतिक्रिया दिनुहोस्