हेटौँडा । सामुदायिक वन उपभोक्ता महासङ्घ, मकवानपुरको आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको सहयोगमा हेटौँडामा एकदिने सामुदायिक वन व्यवस्थापन सहजीकरण तथा समूह सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य भारती पाठकले सामुदायिक वन समूहहरूले वन व्यवस्थापन र आयआर्जनका गतिविधिमा ध्यान केन्द्रित गर्नुपर्ने बताइन् । उनले वन क्षेत्रमा पर्यापर्यटन, जडीबुटी तथा फलफूल खेतीको विकास गरी समूहको कोष वृद्धि गर्नुका साथै उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिइन्। कार्यालय व्यवस्थापन र लेखा प्रणालीलाई समयसापेक्ष बनाउँदै पारदर्शिता कायम गर्नेतर्फ पनि समूहले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशी ले सामुदायिक वनको व्यवस्थापन, सदुपयोग, अग्निरेखा निर्माणलगायतका कार्यमा वन कार्यालयले निरन्तर सहयोग गर्दै आएको बताए । उनले सामुदायिक वन समूहहरूले वन संरक्षणसँगै वातावरण संरक्षण, आयआर्जन तथा विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

डिभिजन वन कार्यालय मकवानपुरका वरिष्ठ वन अधिकृत बसन्तराज गौतम ले सामुदायिक वन व्यवस्थापन तथा कानुनी–नीतिगत व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाईंले समूहको क्षमता अभिवृद्धि, कार्यालय तथा लेखा व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । महासङ्घ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारीले बैठक सञ्चालन, साधारणसभा तथा वार्षिक कार्यक्रम तयारी सम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ स्थानीय महासङ्घ हेटौँडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सब–डिभिजन वन कार्यालय हर्नामाडीका वन अधिकृत प्रदीप अर्याल तथा सब–डिभिजन वन कार्यालय हेटौँडाका रेन्जर ईश्वरदत्त जोशी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न सामुदायिक वनका पदाधिकारी, सदस्य, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी