हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसले समाजशास्त्र स्नातकोत्तर तहका विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने शोधप्रस्ताव लेखन सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित क्याम्पसको सेमिनार हलमा शनिबार र आइतबार सञ्चालन भएको कार्यशालामा समाजशास्त्र स्नातकोत्तर तहका विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए ।

कार्यशालामा त्रिभुवन विश्वविद्यालयको सामाजिक कार्य विभागका निवर्तमान विभागीय प्रमुख तथा सहप्राध्यापक डा. शुक्रराज अधिकारीले सहजीकरण गरेका थिए । उनले अनुसन्धानका लागि उपयुक्त शीर्षक छनोट, अध्ययनको ढाँचा निर्माण, साहित्य समीक्षा, अनुसन्धानको ग्याप पहिचान, तथ्याङ्क सङ्कलन तथा विश्लेषणका विधि, अनुसन्धान प्रतिवेदन लेखन र निष्कर्ष प्रस्तुतिसम्मका विषयमा व्यावहारिक रूपमा प्रशिक्षण दिएका थिए ।

क्याम्पस प्रमुख डा. सह–प्राध्यापक यमबहादुर सिलवालले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यशालाहरू प्रभावकारी हुने बताए । उनले अनुसन्धानमुखी अध्ययनमा विद्यार्थीलाई प्रेरित गर्दै शैक्षिक उपलब्धि हासिल गर्न कार्यशालाले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि अनुसन्धान तथा शैक्षिक गतिविधिलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत उनले जनाए । उद्घाटन कार्यक्रममा सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक संगम चौलागाईले पनि शैक्षिक गतिबिधिमा लाग्न बिद्यार्थीलाई हौसला थपेका थिए ।

कार्यक्रममा स्नातकोत्तर समाजशास्त्र विभागका कार्यक्रम संयोजक सहप्राध्यापक केशव तिमल्सिना, उपप्राध्यापक द्रोण बुढाथोकी तथा निवर्तमान सहायक क्याम्पस प्रमुख सहप्राध्यापक रामेश्वर बराल, उप–प्राध्यापक भाष्करचन्द्र अधिकारी लगायतले सहभागी विद्यार्थीलाई अध्ययन र अनुसन्धानमा निरन्तर लाग्न प्रेरित गरेका थिए ।

सहभागी विद्यार्थीका तर्फबाट इन्द्रकला थोकर र विश्वास ढोडारीले कार्यशालाले अनुसन्धानप्रतिको आफ्नो अन्योल हटाई शीर्षक छनोटदेखि शोधप्रस्तावको प्रारूप तयार पार्नेसम्मको आत्मविश्वास बढाएको अनुभव सुनाएका थिए । कार्यशालामा सहभागि अन्य बिद्यार्थीहरुले पनि आ–आफ्नो अनुसन्धानको शिर्षक छनौट गरी साहित्यको खोजी गर्न सक्ने तहमा पुगेको र उद्देश्य निर्माण गर्न समेत सफल भएका छन् ।

कार्यशालामा सहभागी विद्यार्थी श्रुति लामा र खेम विकले आफूहरूले तयार पारेका शोधप्रस्तावको मस्यौदा प्रस्तुत गर्दै त्यसमाथि छलफल गरेका थिए । श्रुतिले आफ्नो शोधप्रस्ताव प्रस्तुत गरेपछि प्रशिक्षक तथा सहभागीबाट प्राप्त सुझावका आधारमा प्रस्तावलाई अझ परिमार्जन गर्नुपर्ने पक्षबारे छलफल भएको थियो। त्यसैगरी खेम विकले पनि आफ्नो प्रस्तावको विषयवस्तु प्रस्तुत गर्दै अनुसन्धानको उद्देश्य, अध्ययनको ढाँचा तथा कार्यविधिका सम्बन्धमा सुझाव लिएका थिए । प्रस्तुतिहरूमाथि प्रशिक्षक डा. शुक्रराज अधिकारीले आवश्यक सुझाव तथा परामर्श दिँदै शोधप्रस्तावलाई थप परिष्कृत बनाउन मार्गदर्शन गरेका थिए ।

कार्यक्रममा क्याम्पसका पूर्वविद्यार्थी तथा नेपाल खुला विश्वविद्यालयमा एमफिल अध्ययनरत अनिल पराजुली, अमितकुमार कर्ण र केशव समर्पण सुवेदीले पनि अनुसन्धानका आफ्ना अनुभव साझा गर्दै समाजशास्त्र अध्ययनलाई थप सिर्जनशील र अनुसन्धानमुखी बनाउन विद्यार्थीलाई सुझाव दिएका थिए । दुई दिने कार्यशालामा समाजशास्त्र स्नातकोत्तर तहका विभिन्न सेमेस्टरमा अध्ययनरत २८ जना विद्यार्थी तथा पूर्वविद्यार्थीहरूको सहभागिता रहेको थियो ।