हेटाैँडा । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले शुक्रबार बागमती प्रदेशको भ्रमण गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग शिष्टाचार भेटवार्ता गरेका छन्। कृषि, प्रविधि, प्राविधिक शिक्षा तथा औद्योगिक विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यका साथ भएको भेटवार्तामा दुई पक्षबिच सम्भावित साझेदारीका विषयमा छलफल भएको बताइएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा भएको भेटमा कृषि प्रविधिको हस्तान्तरण, संस्थागत सहकार्य, प्राविधिक शिक्षाको सुदृढीकरण तथा औद्योगिक विकासका सम्भावनाबारे विचार–विमर्श भएको थियो। सो क्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव, सिटिइभिटी बागमती प्रदेशकी प्रमुख कार्यकारी निर्देशक शान्ति लामा तथा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना लामा सहभागी थिए।

राजदूत बासले इजरायल सरकार र बागमती प्रदेश सरकारबिच कृषि, प्रविधि र सिप विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न सकारात्मक रहेको बताए। उनले आधुनिक कृषि प्रणाली, प्राविधिक शिक्षा तथा औद्योगिक विकासमा इजरायलको अनुभव नेपालसँग साझा गर्न इच्छुक रहेको धारणा व्यक्त गरे।

भेटवार्तापछि राजदूत बासले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गरेका थिए। उनले औद्योगिक क्षेत्र व्यवस्थापन समितिको कार्यालय, बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्स, अन्टार्टिका बिस्कुट उद्योग, एसटिसी इनर्जी ब्याट्री उद्योगको निरीक्षण गर्दै उत्पादन प्रक्रिया र औद्योगिक सम्भावनाबारे जानकारी लिए।

त्यसैगरी उनले जनप्रिय प्राविधिक शिक्षालयको अवलोकन गरी प्राविधिक शिक्षाको अवस्था, सिपमूलक तालिम तथा जनशक्ति उत्पादनका विषयमा जानकारी लिएका थिए। भ्रमणका क्रममा उनले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा मकवानपुरगढी दरबार क्षेत्रको समेत अवलोकन गरे।

प्रदेश सरकारले यस भ्रमणलाई कृषि आधुनिकीकरण, प्राविधिक शिक्षा, उद्योग प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने अवसरका रूपमा लिएको जनाएको छ। इजरायलसँगको सम्भावित सहकार्यले बागमती प्रदेशमा कृषि प्रविधि, सिप विकास र औद्योगिक क्षेत्रमा नयाँ सम्भावना सिर्जना हुने अपेक्षा गरिएको छ।