हेटाैँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा बसोवास गर्दै आएका न्यून आय भएकालाई लक्षित गरी लागत प्रभावकारी खर्चमा आवास निर्माण गर्न ऋण सहयोग उपलब्ध गराइने भएको छ । हेटौँडा उपमहानगरपालिकामा, उपमहानगरपालिका, लुमन्ती नामक संस्था र कामना सेवा विकास बैँकको सहकार्यमा सञ्चालित आवास निर्माण कार्यक्रमबाट आवास निर्माणमा सहयोग गरिने भएको हो ।
न्यून आय भएकालाई लक्षित गरी उपमहानगरभित्र बसोवास गर्दै आएकालाई लागत प्रभावकारी खर्चमा आवास निर्माण तथा मर्मत सुधारका लागि ऋण सहयोग र प्राविधिक सहयोग गर्न लागेको लुमन्तीका आवास निर्माण कार्यक्रमका सामाजिक सहजकर्ता शान्ति बरुवालले जानकारी दिइन । लागत प्रभावकारी खर्चमा आवास निर्माण तथा मर्मत सुधार गर्न चाहने उपमहानगरभित्र बसोवास गर्ने न्यून आय भएकालाई बढीमा एक ढलान घरसम्मका लागि ऋण सहयोग गरिने भएको छ ।
कार्यक्रमबाट आवास निर्माण तथा मर्मत सुधारका लागि व्यक्तिले ऋण सहयोग सात लाख रुपियाँसम्म पाउने र सामूहिक आवासको निर्माणमा ऋण सहयोग १५ लाख रुपियाँसम्म प्रदान गर्ने व्यवस्था रहेको छ । सामाजिक सहजकर्ता बरुवालले ब्याजदर वार्षिक आठ प्रतिशत हुने र उक्त ब्याज दर सात वर्षसम्मको अवधिमा वृद्धि नहुने भन्दै अग्रिम ऋण भुक्तानी गर्न चाहेमा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने बताइन ।
उनका अनुसार घर निर्माण भएपछि ऋण लिएकाले मासिक १० हजार पाँच सय रुपियाँ बराबरको किस्ता बुझाउनु पर्ने हुन्छ भने ऋण लिने क्रममा कुनै पनि सेवा शुल्क लाग्ने छैन । उनले ऋण लिनका लागि सम्बन्धित टोल विकास संस्था र सम्बन्धित वडा कार्यालयको सिफारिस, सेवाग्राहीको घर निर्माण गर्ने जग्गाको लालपुर्जा, जग्गाको नक्सा र नागरिकताको प्रतिलिपि बुझाउनुका साथै सेवाग्राहीले उपमहानगरपालिका वा वडा कार्यालयमा मालपोत र सम्पत्तिकर तिरेको हुनुपर्ने बताए । उपमहानगरपालिका क्षेत्रमा बसोवास गर्ने न्यून आय भएकालाई मागका आधारमा आवास निर्माण तथा मर्मत सुधारका लागि ऋण सहयोग र प्राविधिक सहयोग उपलब्ध गराइने भएको छ ।












प्रतिक्रिया दिनुहोस्