हेटाैँडा । बागमती प्रदेशको चालू आर्थिक वर्ष ०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने प्रदेशको कुल अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) २४ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आइतबार बसेको प्रदेश सभा बैठकमा प्रस्तुत गरेको बागमती प्रदेश आर्थिक सर्वेक्षण ०८२/८३ मा प्रदेशको आर्थिक, सामाजिक तथा भौतिक विकासका सूचकहरू उल्लेख गर्दै बागमतीले राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा ठुलो योगदान पुर्याइरहेको बताएका छन् ।
सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएकामा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । नेपालको कुल अर्थतन्त्र ६६ खर्ब नाै अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ भने त्यसको ३६.७ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ हिस्सा बागमती प्रदेशको रहनेछ ।
प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा झन्डै दोब्बर
आर्थिक सर्वेक्षणले बागमती प्रदेशका नागरिकको औसत आय राष्ट्रिय औसतभन्दा उल्लेख्य रूपमा माथि रहेको देखाएको छ । चालू आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएकामा बागमती प्रदेशको प्रतिव्यक्ति आय दुई हजार ६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको प्रभुत्व कायमै रहेको उल्लेख गर्दै आर्थिक मामिलामन्त्री तामाङले कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७६.६ प्रतिशत रहने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान १२.२ प्रतिशत र कृषि क्षेत्रको योगदान ११.२ प्रतिशत रहने अनुमान गरिएको छ ।
मन्त्री तामाङले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको फागुनसम्म बागमती प्रदेशको मुद्रास्फीति ३.६२ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।
पछिल्ला वर्षको तुलनामा मुद्रास्फीति नियन्त्रणको अवस्थामा देखिए पनि उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धिले नागरिकलाई असर पारिरहेको सर्वेक्षणले औँल्याएको छ ।
खर्च अपेक्षाकृत नभए पनि आय संकलनमा प्रगति
प्रदेश सरकारको खर्चको अवस्था भने अपेक्षाअनुसार नदेखिएको आर्थिक सर्वेक्षणमा मन्त्री तामाङले उल्लेख गरेका छन् । उनका अनुसार फागुन मसान्तसम्म प्रदेश सरकारको कुल खर्च १५ अर्ब पाँच करोड आठ लाख रुपैयाँ पुगेको छ, जुन वार्षिक विनियोजनको २२.३० प्रतिशत मात्र हो । यस अवधिमा चालूतर्फ ३०.५६ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १७.१२ प्रतिशत मात्रै खर्च भएको तथ्यांकले विकास बजेट कार्यान्वयन अझै सुस्त रहेको संकेत गरेको छ ।
प्रदेश सरकारले फागुनसम्म कुल आय, राजस्व बाँडफाँट र नगद मौज्दातसहित ३८ अर्ब ७८ करोड ७० लाख रुपैयाँ संकलन गरेको छ । यो वार्षिक अनुमानको ५७.४८ प्रतिशतबराबर हो । आर्थिक सर्वेक्षणले प्रदेशमा वित्तीय पहुँच विस्तार भएको उल्लेख गरेको छ । प्रदेशका सबै ११९ स्थानीय तहमा बैंक शाखा पुगेका छन् । हाल एउटा बैंक शाखाले औसत दुई हजार २९ जनालाई सेवा दिइरहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
वित्तीय साक्षरताको अवस्था पनि राष्ट्रिय औसतभन्दा राम्रो देखिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । नेपालमा वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेकामा बागमती प्रदेशमा यो दर ६४.५ प्रतिशत पुगेको मन्त्री तामाङले बताए ।
कृषि क्षेत्रमा अझै आधाभन्दा बढी जनशक्ति आश्रित
प्रदेशको कुल जनसंख्याको ४४.५२ प्रतिशत कृषि पेसामा आबद्ध रहेको सर्वेक्षणले देखाएको छ । प्रतिकूल मनसुनका कारण यस वर्ष धान र गहुँ उत्पादनमा केही कमी आएको भए पनि अन्य खाद्यान्न तथा नगदे बालीको उत्पादन बढेको उल्लेख गरिएको छ । सिँचाइ पूर्वाधार विस्तारतर्फ पनि प्रगति भएको छ। फागुनसम्म प्रदेशका सिँचाइयोग्य जमिनमध्ये ५०.२६ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ ।
प्रदेश सरकारले सडक निर्माण र स्तरोन्नतिलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै चालू आर्थिक वर्षको फागुनसम्म १३.५४ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । यसैगरी, ८२.१५ किलोमिटर ग्राभेल सडक स्तरोन्नति तथा १२६.०८ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति गरिएको सर्वेक्षणमा उल्लेख छ भने नियमित तथा आवधिक सडक मर्मतसम्भारको काम पनि निरन्तर जारी रहेको मन्त्री तामाङले सर्वेक्षणमार्फत उल्लेख गरेका छन् ।
बागमती प्रदेशमा वैकल्पिक ऊर्जासहित ९९.९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उल्लेख गरिएको छ । यस्तै, प्रदेशका ९३.४० प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा उपलब्ध भएको सर्वेक्षणले देखाएको छ भने विद्युत् तथा खानेपानी पहुँचका सूचकहरू राष्ट्रिय औसतभन्दा माथि रहेको प्रदेश सरकारले जनाइएको छ ।
शिक्षा र स्वास्थ्य सूचकमा सुधार
मन्त्री तामाङले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ । शैक्षिक सत्र २०८२ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्नादर शतप्रतिशत पुगेको छ । माध्यमिक तह (कक्षा ९–१२) मा भने खुद भर्नादर ५१.८ प्रतिशत रहेको छ भने विद्यालय पहुँच बढे पनि माध्यमिक तहमा विद्यार्थी टिकाइराख्ने चुनौती अझै कायम रहेको सर्वेक्षणले संकेत गरेको छ ।
स्वास्थ्यतर्फ मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ९८ रहेको छ । प्रदेश सरकारले स्वास्थ्य सेवा विस्तार तथा मातृ–शिशु स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालन गरिरहेको सर्वेक्षणमा जनाइएको छ ।
आर्थिक सर्वेक्षणमा युवा उद्यमशीलता तथा सिप विकास कार्यक्रममार्फत स्वरोजगार प्रवर्द्धन भइरहेको उल्लेख गरिएको छ । प्रदेश सरकारले युवालाई उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ । प्रदेश सभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मन्त्री तामाङले प्रदेशको आर्थिक, सामाजिक तथा भौतिक विकासका सूचकहरूले सकारात्मक दिशा समातेको दाबी गरे । नयाँ पत्रिकाबाट












प्रतिक्रिया दिनुहोस्