हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फागुन १ गतेबाट सुरु गरेको पिपिआर रोगविरुद्ध खोप लगाउने अभियानअन्तर्गत पहिलो दिन सोमबार ९१ हजार ७११ भेडाबाख्रालाई खोप दिइएको छ ।

अभियानको पहिलो दिन सोमबार प्रदेशका १३ जिल्लाका ९१ हजार ७०४बाख्रा र ७ वटा भेडालाई पिपिआरविरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । फागुन ७ सम्म चल्ने अभियानमा प्रदेशभरका झन्डै १२ लाख ६९ हजार भेडाबाख्रालाई खोप लगाउने तयारी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा.बज्र किशोर ठाकुरले बताए ।

काभ्रेपलाञ्चोकमा ६ हजार आठ सय ७० बाख्रा र सातवटा भेडा तथा ललितपुरमा तीन हजार पाँच सय ३८, काठमाडौंमा पाँच हजार ६ सय ५४, भक्तपुरमा चार सय ५०, दोलखामा पाँच हजार नौ सय ९७, सिन्धुपाल्चोकमा एक हजार तीन सय २८ बाख्रालाई खोप लगाइएको छ ।

यसैगरी, सिन्धुलीमा तीन हजार सात सय ७९, रामेछापमा ११ हजार सात सय ४०, मकवानपुरमा १६ हजार आठ सय ८६, चितवनमा नौ हजार चार सय ३७, नुवाकोटमा १६ हजार आठ सय ४९, रसुवामा दुई हजार चार सय ७३ र धादिङमा ६ हजार सात सय तीनवटा बाख्रालाई खोप दिइएको पशुपन्छी विकास महाशाखा पशु विकास अधिकृत डा.निशान्त शर्मा गेलालले जानकारी दिए ।

यस रोगबाट नेपालमा बर्सेनि ठूलो संख्यामा भेडाबाख्रा मर्ने गरेको र कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नु परिरहेको छ । भेडाबाख्राको मृत्युका कारण प्रदेशका कृषकले आर्थिक क्षति व्यहोर्नु नपरोस् भनेर प्रदेश सरकारले खोप अभियान सञ्चालन गरेको पशुपन्छी विकास महाशाखा पशु विकास अधिकृत गेलालले बताए ।