हेटौंडा । आगामी पुस १ गतेबाट हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

मकवानपुर जिल्ला तेक्वान्दो समितिको आयोजनामा १५ औँ मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको हो । दुईदिनसम्म चल्ने प्रतियोगितामा मकवानपुरको बागमती, बकैया, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको गरी १५ वटा डोजाङले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

पुरुषतर्फ विभिन्न विधाको ११ वटा तौल समूह र महिलातर्फ विभिन्न विधाको १० वटा तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ ५ केजीको फरकमा ६३ केजीसम्म र महिलातर्फ ५ केजीको अन्तरमा ५२ केजीसम्मका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले बताए ।

प्रतियोगिताका लागि करिब २ लाख खर्च लाग्ने अनुमान छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ र ५ हजार रुपैयाँको सामग्री प्रदान गरिनेछ ।