हेटौंडा । मंसिर ४ गते हुने संसदीय निर्वाचनमा चितवनको क्षेत्र नं. ३ बाट धर्मेन्द्र सापकोटाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

स्वतन्त्र उम्मेद्वारहरुको चितवनमा हुने भेलामा सहभागि हुन जाने क्रममा आज हेटौंडामा अनिरुद्र खबर संग कुराकानी गर्दै चुनावी प्रचारप्रसारको तयारीमा जुटेको उनले बताए । चुनावको तयारीका लागि चितवनका मतदाता, स्थानीय बुद्धिजिवी, युवाहरुसंग भेट्नका लागि उनी चितवन जान लागेका हुन् ।

उनले युवाहरुले देशमा व्याप्त भ्रष्टाचार, बेतिथी, बिकृति बिरुद्ध आवाज उठाउनुपर्ने बताए । उनले दल तन्त्र र नेता तन्त्र त्यागेर देशको सेवा गर्नुपर्नेमा जोड दिए । अब बुढा नेताहलाई बिदा गरेर युवाहरुलाई नेतृत्वप्रदान गर्नुपर्ने उनले बताए ।

सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिँदै उनको क्षेत्रबाट निर्वाचन लड्न आँटेका हुन् । प्रण्डलाई चुनौती दिर्दै प्रचण्डकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न लाग्नु भएको छ नि ? भन्ने प्रश्नमा उनले– प्रचण्डलाई तिमी बुढा भईसक्यौं, अब युवाहरुलाई पालो दिनुपर्छ भनेर शिक्षा दिन उम्मेद्वारी दिएको बताए । म काठमाडौंमा बस्छु, मेरो घर चितवन हो, मलाई चितवनको विकास कसरी गर्नुपर्छ र यहाँ कस्तो विकास आवश्यकता छ भन्ने मलाई थाहा छ, उनले थपे । चितवनमा कृषिको विकास तिव्र भईरहेकोले चितवनमा कृषिलाई व्यापारीकरण गर्न, चितवनलाई भारतीय बोर्डरसंग जोडेर व्यापार विकास, चितवनको माडी क्षेत्रमा बन्यजन्तुले दुःख दिएकाले समस्याको समाधान र पर्यटनको थप विकास गर्न उम्मेद्वारी दिएको बताए ।

प्रचण्डको बिरुद्धमा नै मेरो उम्मेद्वारी उनले भने–चितवनको विकास गर्न प्रचण्डले केही गरेनन् । चितवनको माडीमा पुलको समस्या छ, प्रचण्ड प्रधानमन्त्री हुँदा सम्म यहाँको समस्या समाधान गर्न केही गरेनन् ।

तत्कालीन माओवादीको एम्बुसमा परी ३८ जना निर्दोषहरुको ज्यान जाने गरी भएको घटनाका पीडितको न्यायका लागि भन्दै आफूले प्रतिनिधिसभा सदस्याका उम्मेदवारी दिएको सापकोटाले जनाएका छन् । चितवनको माडीमा भएको उक्त घटनाका पीडितले हालसम्म पनि न्याय पाएका छैनन् ।

सापकोटा सञ्चार उद्यमीका रुपमा परिचित छन् । उनले आमा केयर फाउन्डेसनमार्फत सामाजिक कार्य पनि गर्दै आएका छन् ।

चितवनमा स्वतन्त्र उम्मेद्वारको चर्चा चलेपछि प्रचण्ड अहिले तनावमा छन् । सामाजिक संजालमा पूर्व प्रधानमन्त्री तथा बुढा नेताहरुलाई नो नट एजेनको अभियान चलेपछि प्रचण्ड चितवनबाट चुनाव उठ्ने कि अन्यत्रबाट उठ्ने भन्ने बिकल्पको खोजिमा रहेको स्रोतको दाबि छ । यता सामाजिक अभियान्ता भिम उपाध्यायले सामाजिक संजालमा प्रचण्ड सिन्धुलीबाट चुनाव लड्ने कुराको चर्चा समेत गरेका छन् ।

स्थानीय निकायको चुनावमा स्वतन्त्रले जितेपछि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको छ । दलिय भागबण्डाले देश भ्रष्टाचारमा डुबेको भन्दै अहिले स्वतन्त्र उम्मेद्वारहरु आउनेक्रम बढेको हो । प्रत्येक निर्वाचनमा ४ दशक भन्दा अघिदेखि एउटै उम्मेद्वार हुने र युवा पुस्तालाई अवसर नदिईदा अहिले युवाहरु चुनावी मैदानमा स्वतन्त्र रुपमा होमिन थालेका छन् । अहिले मकवानपुर सहित देशव्यापाी रुपमा नो नट एगेन अभियान नै चलेको छ ।