हेटौँडा । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकहरूका समस्यामा समाधानमा पहल गर्न मेचीदेखि महाकाली समाजवादी अभियान संचालन गरेको बताएका छन् । शुक्रवार हेटौँडामा समाजवादी अभियान अन्तर्गत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नागरिकहरूमा परेका समस्याहरूलाई सडकसँगै संसद् र सरकारबाट समाधानको पहलका लागि अभियान सञ्चालन गरिएको बताए ।
एकीकृत समाजवादी मुलुकमा समाजवाद स्थापनाको लागि प्रतिबद्ध रहेको र त्यसका लागि नागरिकहरूलाई समाजवादबारे जानकारी गराउन अभियान अन्तर्गत मेची महाकाली यात्रा तय गरेको उनले बताए । नागरिकहरू माझ आफ्ना नीति तथा एजेन्डा स्थापित गर्दै सहकार्यका लागि अभियानमा जुटेको उनको भनाइ छ । नागरिकहरूको समस्या समाधान गरेर राज्यमा सुशासन कायम गर्न सके मात्र उनीहहरुमाथि न्याय हुने नेपालले बताए । ‘नागरिकहरूको समस्यालाई सम्बोधन गरेर अघि बढ्नुपर्छ । त्यसैका लागि पार्टीले मेची महाकाली समाजवादी जागरण अभियान सुरु गरेको हो । जनताका माझमा पार्टीका नीति र मुद्दा स्थापित गर्दै उनीहरूलाई आकर्षित गर्नुपर्छ ,’ उनले भने, ‘राज्यले सुशासनको प्रत्याभूति दिलाउन सके मात्र जनता माथि न्याय हुन सक्छ । जनताका न्यायका लागि अभियान मार्फत पार्टी र सरकारबाट पहल भइरहेको छ । नागरिकहरुसँगको सहकार्यमा मात्र मुलुक समृद्ध हुन सक्छ ।’
उनका अनुसार एकीकृत समाजवादीले कृषि क्षेत्रको विकास र विस्तारबाट अर्थतन्त्र मजवुद हुने नीति अवलम्बन गरेको छ । अभियान अन्तर्गत पार्टीले कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार तथा आर्थिक समृद्धिका विषयहरू नागरिक माझमा पु¥याएको अध्यक्ष नेपालले बताए । कृषि तथा पर्यटन क्षेत्रको विकासबाट नागरिकह्रुलाई समृद्धिमा जोड्ने प्रयत्न भइरहेको उनले बताए ।
‘एकीकृत समाजवादीले आर्थिक समृद्धिको मूल आधार कृषिलाई लिएको छ । सोही अनुसार कृषि क्षेत्र र किसानहरूको समस्या समाधानमा पार्टीले पहल गरिरहेको छ । कृषि क्षेत्रको विकास र विस्तारबाट मात्र मुलुकको अर्थतन्त्र सुधार हुन सक्छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आत्मनिर्भर कृषि पेशा निर्माणमा जोड दिएका छौं । यसबाट आयातलाई निरुत्साहित गर्ने र निर्यात व्यापारलाई बढाउन सक्ने देखिन्छ । कृषि र पर्यटनमा नागरिकहरूको प्रत्यक्ष संलग्नताबाट समृद्धिमा पुग्ने प्रयत्न भएको छ,’ उनले भने ।
सरकारले गरेका कामहरू बारे जानकारी गराउन र पार्टीलाई आम नागरिकहरूसँग जोड्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले पार्टी सङ्गठन निर्माण तथा बिस्तारसँग भ्रष्टाचार विरुद्धका अभियानमा जोडिन कार्यकर्ताहरूलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रममा उपाध्यक्ष एम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले समाजवादी जागरण अभियानलाई वडा वडा तहमा पुर्याउनु पर्ने बताए । उनले अभियानलाई सहर केन्द्रित मात्र नभई गाउँ गाउँमा पु¥याएर अघि बढाउनुपर्ने बताए ।
विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी पार्टीले आफ्नो औचित्य पुष्टिका लागि आम नागरिकसँग जोडिएर काम गर्नुपर्ने बताए । नागरिकहरूको समस्या समाधान, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका काममा जोडिएर समृद्ध देश निर्माण गर्दै समाजवादी यात्रामा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुर इन्चार्ज एवं केन्द्रीय सदस्य मुनु सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे, महासचिव गंगाधर तुलाधर, बागमती प्रदेश अध्यक्ष सावित्रा भूषाल, केन्द्रीय सदस्य मिना कुमारी लामा लगायतकाले समाजवादबारे आम जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले स्वदेशमै उद्यमशीलताको विकास गरेर उर्जाशिल युवाशक्तिलाई देशमै रोजगारी दिन सक्ने वातावरणको सिर्जना गर्नका लागि वन्द भएका उद्योग, कलकाराखाना सञ्चालनमा ल्याउनु र उत्पादनसँग आम नागरिकलाई जोड्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टी केन्द्रीय सचिव रामकुमारी झाक्री, पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेत, पार्टी स्थायी कमिटी सदस्य बिरोध खतिवडा लगायत नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्