हेटौँडा । पशुवधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्यमा जोड दिइएको छ ।

पशु सेवा कार्यालय, मकवानपुरको आयोजनामा बिहीबार सशस्त्र प्रहरी बल गण नं. १४, हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वच्छ, सफा, स्वास्थ्यवर्धक तथा गुणस्तरीय मासुको उत्पादन, बिक्री र वितरण सुनिश्चित गर्न ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइएको हो ।

कार्यक्रममा पशु सेवा कार्यालय, मकवानपुरका प्रमुख डा. रामप्रकाश प्रधानले पशुवधशाला तथा मासु जाँचसम्बन्धी कानुनी प्रावधान, यसको कार्यान्वयनमा सुरक्षा निकायको भूमिका तथा सम्बन्धित निकायबीचको समन्वय र सहकार्यका विषयमा जानकारी गराएका थिए ।

उपभोक्ताको स्वास्थ्य संरक्षणका लागि मासु पसल, पशु वधस्थल तथा वधशालासम्बन्धी निर्धारित मापदण्डको पालना गराउनुपर्नेमा पनि जोड दिइएको थियो ।

ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमार्फत मासुको गुणस्तर कायम गर्न र उपभोक्ताको स्वास्थ्य संरक्षण गर्न सम्बन्धित निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पशु सेवा कार्यालयले जनाएको छ ।