हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका एक जना वडाध्यक्षले आफ्नै नागरिकताको नाम अपमानजनक भएको भन्दै सच्याउन माग गर्दै निवेदन दिएका छन् ।

नागरिकता बनाउँदा नै अपमानजनक नाम राखिएको भन्दै राक्सिराङ–८ का वडाध्यक्ष युसाई प्रजाले नाम सच्याइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएका हुन् । उनले युसाई नाम अपमानजनक भएको बताएका छन् । चेपाङ भाषामा युसाईलाई मुसासँग जोडेर बुझिन्छ । वडाध्यक्षले आफ्नो नाम अपमानजनक रहेको भन्दै गाउँमा अर्कै नाम बताउने गरेका छन् । उनलाई हाबिल भनेर चिनिन्छ ।

वडाध्यक्ष युसाईले आफ्नो नागरिकताको नाम सच्याइदिन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई भेटेर अनुरोध गरेका थिए । दैलेखमा ‘कुकुर कामी’ र ‘कुकुरनी कामी’को नाममा नागरिकता दिलाएको घटनाले राष्ट्रिय बहस सुरु भएपछि युसाई प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङलाई लिएर प्रशासन पुगेका थिए । सीडीओ पाण्डेले नाम सच्याउन सकिने बताएपछि उनले निवेदन दिएका हुन् ।

वडाध्यक्ष युसाईले पहिला आफ्नो नाम सच्चिएर आएपछि गाउँमा अपमानजनक नाम भएका स्थानीयको खोजी गरेर प्रशासनमा नाम परिवर्तनका लागि आफूले भूमिका खेल्ने बताए । मकवानपुरका चेपाङ समुदायमा कुई (कुकुर), चाकमाया, पिलो, कामी, सार्की जस्ता थुप्रै अपमानजनक नामहरू राखेर नागरिकता बनाएको राज्यमन्त्री चेपाङले बताए । मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ जातिको बाहुल्यता छ । शिलापत्रबाट