हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले डेंगी नियन्त्रणमा लाग्नका लागि आग्रह गरेका छन् । हेटौंडामा पछिल्लो केही दिनदेखि फैलिएको डेंगी नियन्त्रण गर्न स्वास्थ्य संग सम्बन्धीत सबै संघसंस्थालाई उनले आग्रह गरेका हुन् ।

स्वास्थ्य कार्यालय मकवानपुरको आर्थिक बर्ष २०७८/७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय बार्षिक समीक्षा कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै घलानले डेंगी नियन्त्रण बाहिर गएकाले यसको नियन्त्रणमा लाग्न उनले आग्रह गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले स्थानीय तहमा देखिएको जनशक्तिको समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले गुणस्तरीय स्वास्थ्य सेवा दिनमा जोड दिर्दै स्वास्थ्य सुचांकहरु सुधार गर्दै लानुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले ६१ प्रतिशत मानिसहरु कुनै न कुनै रोगको कारण अस्पताल जानुपर्ने अवस्था रहेको बताए । उनले ६६ प्रतिशत मानिस नसर्ने रोगका कारण मर्ने गरेको बताए । सर्ने भन्दा नसर्ने रोगले धेरै मानिस मरेका छन्, उनले भने समयमै पहिचान गरेर उपचार गर्नुपर्छ । स्थानीय तहमा ल्याव संचालन गर्नका लागि करारमा भएपनि कर्मचारीको व्यवस्था मिलाएको उनको भनाई छ । लोक सेवाबाट कर्मचारी भर्ना गर्दा धेरै समय लाग्ने भएकाले जनतालाई स्वास्थ्य सेवा दिन करारमै भएपनि कर्मचारीहरु भर्ना गर्न लागिएको उनले बताए । उनले जिरो होम डेलिभरीको अवधारणालाई व्यवहारमा उतार्न आग्रह समेत गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले आवश्यक समन्वय गरेर अगाडि बढ्ने बताए । आम जनताको प्रत्यक्ष स्वास्थ्य संग जोडिने बिषय स्वास्थ्य भएकाले सेवा दिने बिषयमा कुनै सम्झौंता नहुने बताए ।

दुई दिन सम्म चल्ने समीक्षामा सबै स्थानीय तहको स्वास्थ्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिनुका साथैं स्थानीय तहको ग्रामीण स्तरमा कार्यक्रम संचालन गर्न परेका समस्याका बारेमा पनि छलफल गरिने छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा बरिष्ठ जनस्वास्थ प्रशासक दिपक प्रसाद तिवारीको सभाध्यक्षतामा समीक्षा कार्यक्रम भएको थियो ।

कार्यक्रम स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले संचालन गरेका थिए ।