हेटौंडा । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नदीमा हाम फालेर बेपत्ता भएका कर्मचारीलाई हाजिर हुन ३५ दिने सूचना निकालेको छ । बैंकले सार्वजनिक सूचना नै निकालेर हेटौंडा शाखाका सहायक प्रबन्धक निरञ्जन देवकोटालाई बैंकमा उपस्थित हुन भनेको हो ।

यति मात्र होइन, बैंकले राष्ट्रिय पत्रिकामा प्रकाशन गरेको उक्त सूचनामा देवकोटालाई बैंकमा अनुपस्थित हुनुको कारण र प्रमाणसमेत पेश गर्न भनिएको छ ।

जबकी बैंकले कार्यालयमा उपस्थित हुनु भनेर ३५ दिने सूचना निकालेका देवकोटा ७ महिनाअघि नै त्रिशुली नदीमा हाम फालेर बेपत्ता छन् । २०८० असोज १५ गते नदीमा हाम फालेर बेपत्ता भएका देवकोटा अहिलेसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । यता बैंकले भने उनी सम्पर्कमा नआए कर्मचारी सेवा विनियमावली अनुसार सेवाबाट हटाउने चेतावनी दिएको छ ।

नदीमा हाम फाल्नुको कारण बैंकको टर्चर !
गत असोज १५ गते हेटौंडाका देवकोटा धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीस्थित नयाँ पुलबाट त्रिशुलीमा हाम फालेका थिए । प्रत्यक्षदर्शीका अनुसार उनले पुलमा मोटरसाइकल रोकेर जुत्ता खोलेर नदीमा हाम फालेका थिए । त्यसयता भने उनी बेपत्ता छन् । प्रहरीको गोताखोरसहितको टोलीले एक महिनासम्म लगातार खोजी गर्दा पनि देवकोटालाई फेला पार्न सकेको थिएन । हालसम्म पनि उनको अवस्था अज्ञात छ ।

यसो त मर्जरअघि मेगा बैंकमा कार्यरत हेटौंडाका देवकोटाले तत्कालीन इन्भेष्टमेन्ट बैंकसँगको मर्जरपछि बैंकबाट राजिनामा दिएका थिए । उनले मर्जरपछि सीईओले दिएको अनावश्यक टर्चरका कारण राजिनामा दिएको बताएका थिए । तर, राजिनामा स्वीकृत गर्नुको सट्टा बैंकका उच्च अधिकारीले ऋण उठाउन दबाब दिँदै देवकोटालाई टर्चर दिने गरेको आरोप छ ।

बैंकको हेडअफिसका हाकिमहरुले अनावश्यक सोधपुछका नाममा मानसिक टर्चर दिएपछि घर फर्किने क्रममा उनी त्रिशुलीमा हाम फालेको आरोप रहेको छ । अर्थ सरोकारबाट साभार