हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सातौँ वर्षमा ५० प्रतिशत कर वृद्धि गरेको छ । राजस्व व्यवस्थापन शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक बर्स २०७५-७६ पश्चात चालु आव २०८१-८२ मा समग्रमा साे कर वृद्धि भएको हो ।
उपमहानगरपालिकाले भूकम्प र कोरोनाको महामारीका कारण कर वृद्धि गरेको थिएन । पछिल्लो समय मुद्रास्फिति र महङ्गी वृद्धि सँगै चालु आवमा उपमहानगरपालिकाले करमा हेरफेर र वृद्धि गरेको जनाएको छ । बितेको छ आर्थिक वर्षमा कर वृद्धि नगरेको हेटौँडा उपमहानगरपालिकाले चालु आवमा कर वृद्धि गरेको राजस्व व्यवस्थापन शाखा प्रमुख मनोज सुवेदीले जानकारी दिए । आव २०७५-७६, २०७६-७७, २०७७-७८, २०७८-७९ र २०७९-८० मा कर वृद्धि नगरेको उपमहानगरपालिकाले गत आर्थिक वर्षमा केही शीर्षमा न्यून मात्रामा कर वृद्धि गरेकोमा चालु आवमा औषतमा ५० प्रतिशत कर वृद्धि गरेको तथ्याङ्कले देखाउँछ ।
उपमहानगरपालिकाले घर बहाल कर, जग्गा बहाल कर, खाद्य किराना, खाद्यान्न तथा ग्रोसरी, मासु बिक्रेता, सुनचाँदी तथा गरगहना, शृङ्गार, खेलौना तथा उपहार (गिफ्ट) सामान, निर्माण सामाग्री (हार्डवेयर), मेसिनरी तथा सवारी साधन र सो सम्बन्धी पार्टस, पाठ्यपुस्तक तथा स्टेसनरी तथा खेलकुद सामाग्री, फार्मेसी, औषधि तथा आयुर्वेदिक पसल, कृषिजन्य औषधि, बिउ बिजन तथा मलखाद विक्रीगर्ने पसलबाट कर सङ्कलन गर्दै आएको छ ।
त्यस्तै कपडा तथा फेन्सी, जुत्ता तथा चप्पल, भाडाँ पसल, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, फर्निचर, मदिरा तथा सुर्तिजन्य सामान बिक्रेता, तरकारी तथा फलफुल , पेट्रोलियम पदार्थ तथा ग्यास बिक्रेता, निर्माण व्यवसाय, खाद्य तथा पेयपदार्थ, रेष्टुरेन्ट, स्वास्थ्य सेवा, शिक्षा सेवा लगायतकालाइ कर निर्धारण गरेर वार्षिक राजस्व सङ्कलन गर्दै आएको हो ।
उपमहानगरपालिकाले घर बहाल कर अन्र्तगत हेटौँडाको ट्राफिकचोकदेखि सानोपोखरा र पूर्वी भैरवरोड सम्म ६ हजार रुपियाँबाट चालु आवमा १० हजार पुर्याएको छ । २०७५ पछि २०८१ मा आएर ४२.८६ प्रतिशत राजस्व वृद्धि भएको देखिन्छ । त्यस्तै हेटौँडा बजारको ट्राफिक चोकदेखि पश्चिम राप्तीरोड जिल्ला प्रहरी कार्यालय अगाडि सम्म २०७५ सालमा ६ हजार घरबहाल कर रहेकोमा २०८१ मा आएर १० हजार पुगेको छ । अन्य विविध शीर्षकमा पनि छ बर्षको अवधिपश्चात् चालु आवमा आएर मात्रै राजस्वमा वृद्धि भएको तथ्याङ्क छ ।
पछिल्लो समय मकवानपुर उद्योग वाणिज्य सङ्घले हेटौँडा उपमहानगरपालिकाले अस्वभाविक रुपमा कर वृद्धि गरेको भन्दै विभिन्न चरणवद्ध आन्दोलनको घोषणा गरेको छ भने उपमहानगरपालिकाले साताैँ वर्षपछि गरिएको कर बुद्धिलाई स्वभाविक र आवश्यकताको सिद्धान्तको आधारमा वृद्धि गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्