हेटौँडा। चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा बागमती प्रदेश सरकारले साढे २ अर्ब राजस्व सङ्कलन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आव २०८१-८२ को भदौ मसान्तसम्म २ अर्ब ६५ करोड ४३ लाख ४२ हजार राजस्व सङ्कलन भएको हो ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा बागमती प्रदेश सरकारको राजस्व सङ्कलनमा वृद्धि भएको तथ्याङ्कले देखाएका छ । मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०-८१ को भदौ मसान्तसम्मको आयभन्दा २२ दशमलव ३ प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको हो ।

आर्थिक वर्ष २०८०-८१ को दुई महिनामा २ अर्ब १७ करोड ५२ लाख ११ हजार राजस्व सङ्कलन गरेको प्रदेश सरकारले चालु आव २०८१-८२ मा ४७ करोड ९१ लाख ३१ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख होमनाथ रिजालले जानकारी दिए। गत आवमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार अनुमान गरिएकोमा भाद्र मसान्तसम्म ३ दशमलव ४७ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो भने चालु आवमा कुल आय अनुमानको ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारमा ४ दशमलव ११ प्रतिशत राजस्व प्राप्ति भएको तथ्याङ्क छ ।

चालु आवमा प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशन दस्तुर, बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँडफाँड भई प्राप्त हुने अन्त शुल्क, सवारी साधन कर, मनोरञ्जन कर र दहत्तर वहत्तरको बिक्रीबाट प्राप्त हुने आय मार्फत राजस्व सङ्कलन गरेको हो । प्रदेश सरकारको सबैभन्दा धेरै आम्दानीको स्रोत सवारी साधन कर र घरजग्गा रजिष्ट्रेशन दस्तुर वापतको राजस्व देखिन्छ ।

सवारीसाधन कर वापत एक अर्ब ११ करोड ८० लाख ११ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत २ करोड ९३ लाख ९२ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । त्यस्तै मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा बाँडफाँड भई प्राप्त दहत्तर बहत्तरको बिक्रीबाट एक करोड १४ लाख ५० हजार, मनोरञ्जन कर वापत ८३ हजार, र अन्त शुल्क वापतको कर १९ करोड ६४ लाख २० हजार राजस्व सङ्कलन भएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रिजालले जानकारी दिए । गाेरखापत्रबाट