हेटौँडा । बागमती प्रदेशको काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका दश जिल्लामा सवारी जरिवानाबाट एक करोड राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को दुई महिनाको अवधिमा ११ हजार ६९१ सवारी कारवाहीबाट एक करोड पाँच लाख दश हजार ५०१ रुपियाँ राजस्व असुल गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउन र भदौ मसान्तसम्म मकवानपुर, चितवन, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र रसुवा जिल्लाबाट सो राजस्व सङ्कलन गरिएको छ ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन, परमिट नभएको, ओभर लोड, सिट बेल्ट, हेलमेट नलगाउने, कागजपत्र साथमा नभएको, सवारी चालक अनुमति पत्र नभएको, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको, छतमा लगेर, तीव्र गति, सवारीको सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी कारवाहीमा परेका बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।