हेटौंडा । शेयर बजार परिसूचक नेप्से आज सोमवार झन्डै एक सय अङ्कले घटेको छ । शेयर बजार ओरालो झर्ने क्रम जारी छ । नेप्से बजार आज ९९.८६ अंकले तल झरेको हो । ३.४२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८२०.६६ अंकमा ओर्लिएको छ ।

आज २२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७.५६ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार उच्च अंकले घटे पनि आज दुई कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।

जीवन बीमा, निर्जीबन बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । जीवन बीमाको शेयर पाँच सय ६९, निर्जीवन बीमाको पाँच सय ६ र विकास बैंक समूहको शेयर दुई सय ३४ अङ्कले घटेको हो । यस्तै माइक्रोफाइनान्सको एक सय ८३, व्यापारको एक सय १३, फाइनान्सको एक सय १०, र होटलको एक सय सात अङ्कले घटेको छ ।

नेप्सेमा सूचीकृत कम्पनी मध्ये आठ वटा बाहेक सबैको मूल्य घटेको छ । आज कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा बढी ७.८२ प्रतिशतले घटेको हो । नेप्सेका अनुसार आज अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । अपि पावरको ३८ करोड ३४ लाख २४ हजार १ सय ५२ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

आजको बढी कमाउने र बढी गुमाउने कम्पनीहरु हेर्नुहोस् ।