हेटौंडा । केही हप्ता अगाडि हेटौंडामा गर्मी निकै बढ्यो । गर्मीका कारण हेटौंडाका बिद्यालयहरु एकसाताको लागि सार्वजनिक बिदा नै दिईयो । गर्मीका कारण हेटौंडामा जनजीवन प्रभावित वन्यो । अहिले पनी हेटौंडाको गर्मी केही कम मात्रै भएको हो, गर्मीले सताउन छाडेको छैन ।
गर्मीबाट केही राहत पाउँन स्वीङ गर्ने र खोलामा पौडी खेल्न जानेको बाक्लो जमात देखिन्छ, अहिले हेटौंडामा । ‘पानीमा डुबुनजेल त ठिकै, पानीबाट निस्केपछि गर्मीले उस्तै’, हेटौंडाका राजेश थापाको अनुभव छ । गर्मीबाट एकदिन भएपनि छुटकारा र पर्यटकीय क्षेत्रको आनन्द लिन नयाँ पदयात्राको गन्तब्य हुनसक्छ अहिले ‘पालुङ–आग्रा पदमार्ग’ ।
बागमती प्रदेशको राजधानी हेटौंडाबाट बाईरोडको बाटो भैंसे, सिमभञ्ज्याङ, दामन हुँदै करिव ६५ किलोमिटरको दुरीमा थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ । करिव २ घण्टा ३० मिनेटमा हेटौंडको बुद्धचोकबाट सवारीसाधन मार्फत शिखरकोट पुग्न सकिन्छ । शिखरकोट ओर्लेपछि सुरु हुन्छ ‘पालुङ–आग्रा पदमार्ग’ ।
पदयात्रा ऐतिहाँसिक गोपाली गाउँ, डाँडागाउँको गोरखनाथ धाम, बिष्वको तीन शंखमुल मध्येको एक शंखमुल, थाहा २ मा रहेको पाण्डुकेश्वर मन्दिर, फाँटबजारको पाथीभरा मन्दिर, डाँडामुखको पालुङगढी, भकारीढुँगा र यो पदमार्गको सबैभन्दा अग्लो स्थान केशरी भञ्ज्याङ, मान्द्रो गुफा हुँदै उनिउ चौरमा पुगिन्छ । ठुलो हरियो फाँट झै देखिने यो चौर, कहिले हुस्सुले ढाक्ने कहिले खुल्ला हुने मौसम, मौसम खुल्ला हुँदा चौरबाट दन्तलहर जस्तै मिलेका बिभिन्न हिमश्रृङ्खलाहरु छर्लङ्गै देखिने उनिउचौरको बिशेषता हो ।
करिब ४ घण्टामा पुराहुने यो पैदल यात्रामा मृग, स्याल, कालिज, काँडेभ्याकुर लगायत जनावर र चराचुरुङ्गीहरुलाई नजिकैबाट अवलोकन समेत गर्न सकिन्छ । पर्यटकीय दृष्टिकोणले थाहानगर अत्यन्तै सम्भावना भएको क्षेत्र हो । थाहा नगर बिशेषतः कृषि, पर्यटन र धार्मिक दृष्टिले अत्यन्तै सम्भावना भएको स्थान हो । जताततै गर्मीले सताएको बेलामा पनि थाहा नगरमा ज्याकेट नै लगाउन पर्ने हुन्छ । राती सुत्नेबेला सिरक ओड्नै पर्छ ।
‘पालुङ–आग्रा पदमार्ग’ मा तामाङ संस्कृति पनि भेट्टाइन्छ । यो पदयात्राको अधिकांश समय जंगलको यात्रा भएकोले विभिन्न वनस्पती र चराचुरुङ्गीको आवाजसंगै यात्रा गर्दा जो कोही पनि रमाईलो र आनन्दको महशुस गर्दछन् । डाँडैडाँडाको यात्रामा खुलेको पालुङ फाँट र झुरुप्प परेको वस्ती, मौलिक परम्पराको अवलोकन गर्दै घुमफिर गर्दा निकै रमाइलो हुन्छ । उनिउ चौरबाट नजिकै डाँडाबास बजार छ । सो बजारबाट शिखरकोट आउन सवारी साधन प्रयोग गर्न सकिन्छ ।
यही ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ मा गत असार २३ गते शनिबार काठमाण्डौका युवाहरु सहित करिब ६० जनाको सहभागितामा पहिलोपटक पैदल यात्रा सम्पन्न भयो । एकदिनमा राजधानी नजिकैको पदयात्रामा ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ अत्यन्तै उपयुक्त भएको पैदलयात्रीहरुको भनाई रहेको छ । काठमाण्डौं आएका पदयात्री आशिस अधिकारीले यो पदयात्रा सोचेभन्दा निकै रमाईले भएको बताए । उनले एकदिनमा प्रकृतिसंगको सामिप्यता, संस्कृतिको अध्ययन, ऐतिहाँसिक अवलोकन गर्न सकिने बताए ।
थाहा नगरका युवा फोटोपत्रकार गणेश बिष्ट, माधव कार्की, यादव जंग रायमाझी लगायतले परिकल्पना गरेको यो पदयात्रा (ट्रेकिङ रुट)ले थाहा नगरको पर्यटनको बिकास संगै संघीय राजधानी र बागमती प्रदेशको राजधानीका पैदलयात्रीहरुले नजिकै एकै दिनमा सम्पन्न गर्न सकिने अत्यन्तै सहज र प्रभावकारी मैदलमार्गको बिपल्प दिएको छ ।
तस्विरः गणेश बिष्ट
प्रतिक्रिया दिनुहोस्