हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा शुक्रबारबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । साउन २५ देखि ३१ गतेसम्म बागमती प्रदेशमा खोप अभियान सञ्चालन गर्न लागिएको बिहीबार मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

गाई भैँसीमा पछिल्लो समय प्रकोपको रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध अभियानअन्तर्गत प्रदेशभरि ७६ हजार २७५ पशुलाई खोप लगाउने लक्ष्य राखिएको छ । बागमती प्रदेशको ललितपुर, नुवाकोट, मकवानपुर, धादिङ, चितवन, दोलखा, काभ्रेपलान्चोक र सिन्धुली पशु सेवा कार्यालय मार्फत खोप लगाउन लागिएको हो ।

अभियानका लागि आठ जिल्लामा ३७६ जना भ्याक्सिनेटर नियुक्त गरेर खोप लगाउन लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

निर्देशनालयमार्फत आठ हजार ३००, विभागमार्फत पाँच हजार र पशु सेवा कार्यालयमार्फत ६२ हजार ९७५ डोज खोप लगाउन लागिएको हो । अभियानका लागि ७३ लाख रुपियाँ विनियोजन गरिएको मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले जानकारी दिए ।

मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशमा दश लाख ११ हजार १३६ गाई, आठ लाख ३२ हजार १९३ भैँसी रहेको छ । यहाँ वार्षिक चार लाख ५५ हजार १४२ मेक्ट्रिकटन दुध उत्पादन हुँदै आएको छ । २०८० सालमा प्रदेशका १३ जिल्लामा लम्पी रोगका कारण दुई लाख ५६ हजार ७५९ पशु प्रभावित भएकोमा ११ हजार २१८ पशु मरेको थियो ।

गर्मीयाममा हुने यो रोगको सङ्क्रमणको जोखिम अझै रहेकोले पशुधनको रक्षाका लागि खोप लगाउन लागेको बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए । प्रकोपको रूपमा रहेकाले लम्पी रोग नियन्त्रण गर्न खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिँदै उहाँले स्थानीय सरकारले पनि खोपसँगै सचेतना वृद्धिका कार्यक्रम गर्नुपर्नेमा जोड दिए । गाेरखापत्रबाट