हेटौँडा । पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि मकवानपुरमा खोरेत रोग विरुद्ध खोप अभियान थालिएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा खोरेत रोग विरुद्ध पशुहरूमा खोप लगाउन थालिएको पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ ।
दश स्थानीयतह रहेको मकवानपुर जिल्लामा करिव एकलाख पशु (गाईं र भैंसी) लाई खोप लगाउने लक्ष्य राखिएको पशु सेवा कार्यालय मकवानपुरका पशु चिकित्सक डा.विजय पौडेलले जानकारी दिए । पहिलो चरणमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ९, १२ र १५ मा चारहजार र मनहरी गाउँपालिका वडा नं. ६ र ७ मा दुईहजार डोज खोप लगाउन सुरु गरिएको उनले जानकारी दिए ।
पशु सेवा कार्यालय मकवानपुरले मङ्सिर पहिलो साताबाट सुरु गरेको खोप अभियान पशुको ओसारपसार बढी हुने र रोग फैलने हेटौँडाको रातमाटे र मनहरीको लोथर क्षेत्रलाई बढी प्राथमिकता दिएर सञ्चालन गरिएको हो । बढी जोखिमयुक्त ठाउँमा छ÷छ महिना र अन्य ठाउँमा वर्षमा एक डोज खोप लगाइने गरिएको छ ।
एक पकेट खोरेत रोग मुक्त अभियान अन्र्तगत प्रदेश सरकारबाट प्राप्त भएको छ हजार डोज खोप वितरण गरिएको र संघीय सरकारबाट गत बर्षहरुमा झैं यसबर्ष पनि करिव ९६ हजार बढी खोप प्राप्त हुने र यहाँको सबै स्थानीयतहमा खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । गत आवमा हेटौँडाको १५ र १६ नं. वडाबाट खोरेत रोगको प्रकोप सुरु भएको थियो । जिल्लामा गत आवमा करिव ५५ हजार डोज खोरेत विरुद्धको खोप लगाइएको थियो ।
त्यस्तै चालु आवका लागि पशु सेवा विभागबाट पिपिआर खोप तीन लाख दुईहजार, बंगुर (क्लासिकल स्वाईन फिवर) ८ हजार र गाई भैंसीको लागि भ्यागुतेका लागि दश हजार डोज खोप प्राप्त भएको पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ ।
खोरेत रोग लागेका पशुहरुलाई ज्वरो, मुख तथा थुन वरिपरि फोका, खुरको कापमा घाउ, खान रुचि खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट र्याल काढ्नु लगायतका लक्षण देखापर्ने गरेका छन् । खासगरी खोरेत रोग सिधा सम्पर्क, हावामा फैलिएका जनावरको श्वासप्रश्वास, दुध, वीर्य, दानामा प्रयोग भएको सङ्क्रमित एनिमल प्रोटिनका स्रोतहरूबाट फैलिने गरेको पशु प्राविधिकहरूको भनाइ छ । पशुमा बिषाणुको कारणले लाग्ने महामारी खोरेत नेपालमा अहिलेसम्म सात प्रजातिको भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्