हेटौँडा । राप्ती तटीय क्षेत्रको नदी प्रदूषित हुँदा जलीय प्राणी सङ्कटमा पर्दै गएका छन् । क्रसर, खेतीपातीमा प्रयोग हुने रासायनिक मल, विषादी, औद्योगिक क्षेत्रबाट निस्कने केमिकलयुक्त फोहर पानी, ढल र खोलामा गाडी धुँदा जलीय प्राणी सङ्कटमा पर्दै गएका हुन । मकवानपुरको दामन, कुलेखानी, भैँसेको त्रिखण्डी, हेटौँडाको राप्ती, कर्रा खोला, पर्सा राष्ट्रिय निकुञ्जबाट आउने कुखरेनी खोला, मनहरी खोला, चितवनको लोथर खोला, पम्फा, लदरी, कयर, ढुङ्ग्रे खोला, बुढी राप्ती, खगेरी, केरुङ्गा, बेथरी, रेवा खोला चितवनको नारायणीको गोलाघाटमा गएर मिसिने पानी प्रदूषित हुँदै गएको छ ।

हेटौँडा उपमहानगरपालिकाले राप्ती खोलाको किनार, मनहरी गाउँपालिकाले मनहरी खोलाको किनार र चितवनको भरतपुर महानगरपालिकाले केरुङगा खोलाको किनारमा बनाएको फोहर फाल्ने (डम्पिङ) साइडका कारण नदी प्रदूषित बनेको छ । यहाँबाट निस्कने लिचिङ (फोहर रसायन) पानीमा मिसिदा नदी र खोलाको पानी प्रदूषित भएको राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अभियन्ता अपिल घिमिरेले बताउनुभयो । वातावरण प्रभाव मूल्याङ्कन र अनुमति बिना जथाभाबी खोलिएका क्रसरका कारण पनि जलीय प्राणी सङ्कटमा पर्दै गएको उहाँको भनाई छ । क्रसरमा बालुवा पखाल्ने क्रममा निस्कने माटो र धमिलो पानीका कारण जलमा आश्रित प्राणीलाई असर परेको हो ।

खेतीपातीका क्रममा बालिविरुवामा प्रयोग भएको विषादी र रसायिनक मलले समेत नदी प्रदूषित गरेको छ । बालिबिरुवा र माटोमा प्रयोग भएको विषादी र रासायनिक मल बर्खामा बगाएर खोला तथा नदीको पानीमा मिसिदा त्यहाँको पानी प्रदूषित बनेको हो । त्यस्तै खोला तथा नदी किनारमा शवदाहा गर्दा पनि पानी प्रदूषित भएको छ । शवदाहा पश्चात् कपडा, प्लास्टिकको बोतल लगायतका विषयले नदी दुर्गन्धित बनेको छ । त्रिवेणी धाम, देवघाट तथा मनहरीमा खोला किनारमा शवदाहा व्यवस्थित नहुँदा त्यसको प्रभाव नदीमा परेको छ ।

हेटौँडाको राप्ती खोलामा जथाभाबी साना तथा ठुला सवारी धुँदा पनि नदी प्रदूषित भएको छ । गाडीबाट निस्केका विभिन्न केमिकल, पेट्रोल, डिजेल, मोबिल लयातका अन्य पद्धार्थले नदी प्रदूषित बनेको छ । खोला तथा नदी किनारामा बसेर खाएका प्लास्टिक र बोतल जथाभाबी पानीमा फ्याँक्दा पनि त्यसले प्रत्यक्ष असर परिरहेको छ । यता हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले खोला तथा नदी प्रदूषण गर्न नमिल्ने बताए । खोलामा गाडी धुने वा प्रदूषण गरे जरिवाना गर्ने गरेको बताएपनि राप्ती खोलामा दर्जनौँ गाडी धुने र फोहर फाल्ने क्रम रोकिएको छैन । हेटौँडा उपमहानगरपालिकाले सफा हेटौँडा अभियान चलाएको भएपनि जथाभाबी फोहर फाल्दा वातावरण र जल प्रदूषित भएको हो ।

नदीमा फ्याँकिएको प्लास्टिक जनावरले खाइदिँदा जनावर मर्ने तथा असर पर्ने गरेको अभियन्ता घिमिरेले बताए । हानिकारक विषादीका कारण पानीको रङ्ग गुण र स्वादमा परिवर्तन हुँदै गएको छ । जलचर, पानीमा आश्रित समुदायमा पनि असर परेको छ । उनीहरूमा छालाको समस्या देखिएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाका कार्यालय प्रमुख सरोज कुमार यादवले प्राकृतिक जलाशयमा माछा घट्दै गएकोमा चिन्ता व्यक्त गरे । करेन्ट र विषादी हालेर माछा मार्ने कारणले जलीय प्राणी सङ्कटमा परेको उनको भनाई छ । ‘खोला तथा नदीमा ढलको पानी मिसाउँदा पानी फोहर हुन्छ, क्रसरले पानी धमिलो बनाउँछ, जसका कारण जलीय जीव घट्दै गएको छ’, कार्यालय प्रमुख यादवले भने । प्राकृतिक जलाशयमा आश्रित जलीय प्राणी आधा घटेको उनले बताए । जथाभाबी विकासको नाउमा खानी, तथा बाटो खन्दा त्यहाबाट निस्केको बाटो र धुलोका कारण जलीय प्राणी सङ्कटमा परेको उनले बताए ।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अभियन्ता घिमिरे विगत दशबर्षदेखि राप्ती सफाइ अभियानमा लागेका छन । पाँच सय हप्ता बन्दा बढी २१ हजार स्वयंसेवक परिचालन भएर नदी तथा तटीय क्षेत्र सरसफाइ गरिएको र दश हजार टन फोहर समेत सङ्कलन गरेको उनले जानकारी दिए । राप्ती तटीय क्षेत्रको मकवानपुरदेखि चितवनसम्म खोला तथा नदी विभिन्न कारणले प्रदूषित हुँदा यहाँ रहेका जलीय प्राणी सङ्कटमा पर्नुका साथै जलमा आश्रित भएर जीविकोपार्जन गर्ने समुदाय पनि समस्यामा परेका छन् ।

Visited 54 times, 1 visit(s) today