हेटौँडा । धार्मिक पर्यटकीय क्षेत्र हेटौँडा उपमहानगरपालिका–९ स्थित त्रिवेणी धाम पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । रत्नावली, कर्णावती र कौशवाही नदीको सङ्गम त्रिवेणी धाम अहिले आन्तरिक पर्यटकको मुख्य गन्तव्य बनेको हो ।

त्रिवेणी धाममा एक वर्षमा एक लाख बढी पर्यटकले भ्रमण गर्नुभएको छ । २०८१ सालमा एक लाख दुई हजार पर्यटकले भ्रमण गर्नुभएको कुष्माण्ड सरोवर त्रिवेणी धाम विकास समिति कार्यालय सचिव सरस्वती न्यौपानेले जानकारी दिइन् । त्रिवेणी धाममा रहेको सिस महल अवलोकन गर्न चालिस हजार टिकट विक्री भएको छ । टिकट नकाटी धामभित्रै अवलोकन भ्रमण गर्नेको सङ्ख्या अझैँ धेरै रहेको छ । पछिल्लो समय हेटौँडा आइपुग्ने अधिकाङ्श मानिसहरू यहाँ भ्रमणमा आउने गरेको उनको भनाई छ ।

बारा, पर्सा, रौतहट, चितवन, पोखराबाट आन्तरिक धार्मिक पर्यटक आउने गर्नुभएको कुष्माण्ड सरोवर त्रिवेणी धाम विकास समिति अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए । विशेष गरेर चितवनबाट त्रिवेणी धाममा धेरै पर्यटक आउने गरेको उहाँको भनाई छ । बिदाको समयमा दैनिक ४ देखि ६ वटा बसमा विभिन्न जिल्लाबाट पर्यटक यहाँ घुम्न आउने गरेका छन ।

यहाँ चाडपर्व, नयाँ वर्ष र धार्मिक मेलाको समयमा सयौँ पर्यटक आउने गर्नुभएको हो । कुष्माण्ड सरोवर त्रिवेणी धाम नदी उकास जमिनमा १०८ गौमुखी धारा, शिवालय, ब्यासासन, यज्ञकुण्ड, नागस्थान, बुद्ध दर्शन, पार्क, फुल बगैँचा, सङ्ग्रहालयसहित शिष महल, हेडम्बा नगरीको परिचय सहितको आकर्षणले यहाँ पुग्ने पर्यटकलाई प्रफुल्लित तुल्याउने गरेको छ ।

धाम धार्मिक मान्यताका आधारमा कुशको जराबाट उत्पत्ति भई चुरियामाईलाई शिर बनाएर उत्तर तर्फ बगिरहेकी कौशवाही उत्तर बाहिनी नदी वंश गोपाललाई शिर बनाएर बगिरहेकी कर्णावति नदी र लटरम्वेश्वर तथा ब्यो मुकुट पर्वतको ऋषेश्वर आदिलाई शिर बनाएर बगी रहेकी रत्नावली तथा समरावती समेत तीन नदीको सङ्गममा अवस्थित छ । हेटौँडा–१०, ११ र १३ नं. वडाको सिमानामा अवस्थित पवित्र सत्य सनातन धार्मिक ग्रन्थहरू स्कन्द पुराणको हिमवत खण्ड, महाभारतको आदि पर्व, वनपर्व, वराह, वायुपुराण आदिमा यस त्रिवेणी धामको महिमा वर्णन भएको उल्लेख छ ।

प्रत्येक वर्षको कुष्माण्ड नवमीका दिन कुभिन्डो दान गरेर यहाँ स्नान गर्ने गरिन्छ ।स्कन्दपुराणको हिमब्रतखण्डको सोह्रौँ अध्याय ७६ औ श्लोक र महाभारतको आदि पर्व ५६ औ श्लोकमा उल्लेख गरेअनुसार १०८ गौमुखी धारामा स्नान गर्दा रोग निवारण हुने र कुष्माण्ड नवमी मेलामा कुभिन्डो दान गर्दा मुक्ति पाउने पुराणमा उल्लेख छ । आफ्ना भक्तजनहरूलाई तापहरूबाट मुक्त गराउने माताका रूपमा कुष्माण्ड परिचित हुनुहुन्छ । कुष्माण्डको नामबाट स्थापित कुष्माण्ड सरोवर त्रिवेणी धामले बर्सेनि बृहत् मेला आयोजना गर्दै आएको छ ।

Visited 124 times, 1 visit(s) today