हेटौंडा । मकवानपुरको थाहा नगरमा आगामी ९ गतेदेखि १५ गतेसम्म हुने थाहा फिल्म फेस्टिभल–२०२३ को तयारी तीव्र बनाइएको छ ।

‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते फेस्टिभलको प्रचारप्रसारलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको हो । फेस्टिभलमा बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोग रहेको आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले फेस्टिभलका क्रममा दुई दर्जन चलचित्र, लघुचलचित्र र वृत्तचित्र निःशुल्क प्रदर्शनी गरिने बताए । उनले थाहा नगरसहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीका रूपमा विकास गर्ने उद्देश्यसहित एकहप्ते फिल्म फेस्टिभल आयोजना गरिएको स्पष्ट पारे । फेस्टिभलका अवसरमा थाहा नगरको पर्यटन प्रवर्धनका लागि बनाइएका वृत्तचित्रहरू पनि प्रदर्शनी गरिने आयोजकले जानकारी दिएका छन् ।