हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेको छ । देशको एक मात्र जलाशययुक्त कुलेखानी आयोजनाको इन्द्रसरोवरमा पानीको सतह घटेपछि अत्यावश्यक समयमा भन्दा बाहेक कुलेखानी जलविद्युत् आयोजना सञ्चालन नगरिने भएको हो ।
इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट एक हजार चार सय ८५ दशमलव ०१ मिटरसम्म रहेको छ । सोमवार साँझ सम्म एकहजार चार सय ८४ दशमलव ९८ मिटरसम्म मापन गरिएकोमा पानी परेपछि मङ्गलवार विहान थप पानी जम्मा भएको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार २०५८ साल पछि अहिले पानीको सतह घटेको हो । कुलेखानीबाट आपत्तकालिन समयमा मात्रै बिजुली उत्पादन गरिने उनको भनाई छ ।
पछिल्लो समय पानी कम परेकाले नेपालको जलविद्युत्को महत्वपूर्ण ब्याकअप आयोजनाका रूपमा रहेको कुलेखानीमा पानीको सतह घटेको हो । विशेष गरी सुक्खा र गर्मी याममा खोला, नदीको पानी कम हुँदा विद्युत् आपूर्ति र मागलाई सन्तुलन कायम गर्न र विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजनालाई प्रयोग गरिने गरिएको छ ।
समुद्री सतहबाट एक हजार चार सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उनको भनाइ छ । पछिल्लो समयमा कुलेखानी विद्युत् आयोजना नियमित चलाउनुपरेको र पानी पनि नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको हो । समुद्र सतहबाट एक हजार पाँच सय ३० मिटरसम्म पानी जम्मा गर्न सकिन्छ ।
जिल्लाको उत्तरी पहाडी क्षेत्रमा रहेको ईन्द्रसरोवर रिजरभ्वायर विद्युत उत्पादनको उद्देश्यले कुलेखानी खोलामा ड्याम वनाई निर्माण गरिएको मानव निर्मित नेपालकै ठुला रिजरभ्वायर मध्ये एक हो । यसमा पानी जम्मा पार्नलाई पालुङखोला, चित्लाङखोला, सेतीखोला, चखेल इनलेट, चल्खुखोला, ठाडोखोला र धस्कुखोला गरी जम्मा ७ वटा श्रोतहरु रहेका छन् ।
जलाशयको पानीको सतह बढेर जलाशय भरिएर निस्कने पानी कुलेखानी खोला हुँदै बागमती नदीमा मिसिने गरेको छ । कुलेखानी जलविद्युत् आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रो जलविद्युत् केन्द्रको १४ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । कुलेखानी प्रथममा विद्युत् उत्पादन भएपछि निस्किएको पानीले दोस्रो र दोस्रोमा विद्युत् उत्पादन गरी निस्किएको पानीसहित स्थानीय खोलाको पानी प्रयोग गरी भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रहेको कुलेखानी तेस्रो जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन हुँदै आएको छ । गोरखापत्रबाट साभार
प्रतिक्रिया दिनुहोस्