हेटौँडा । पश्चिम मकवानपुरको मनहरी–७ रमौलीका किसान हरि शरण अर्यालले व्यावसायिक फूलखेती गरेका छन । सप्तरङ्गी टीका, सयपत्री र मखमली फूलको माला लगाउने पर्वका रूपमा मानिने तिहारका लागि उहाँले कलकत्ते जातको सयपत्री फूलको खेती गरेका हुन ।

फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै उहाँले सयपत्रीको फूलको खेती गरेका छन । करिब एक बिगाहा क्षेत्रमध्ये १२ कठ्ठामा ड्रागन फ्रुट लगाएको स्थानमै अन्तरबालीका रूपमा र ८ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको मात्रै खेती गरेका हुन ।

चितवनस्थित ज्योति नगरबाट करिब १८ हजार कलकत्ते प्रजातिको सयपत्री फूलको बिरुवा ल्याएर रोपण गरेका उनकाे बारीमा अहिले ढकमक्क फूल फुलेको छ । फूलको पर्व तिहारलाई लक्षित गरेर रोपेको सयपत्री दसैँबाट अलिअलि फुल्न सुरु गरेको थियो । तिहार अगावै फुलेका सयपत्री फूलहरू टिपेर उनले स्टोर गर्न थालेका छन । हावा नछिर्नेगरी प्लास्टिकमा प्याक गरेर राख्दा १५ दिनसम्म फूल जस्ताको त्यस्तै रहने किसान अर्यालको भनाई छ ।

विगत छ वर्षदेखि तिहारका लागि फूल उत्पादन गर्दै आउनुभएका अर्यालले प्रत्येक वर्ष करिब पाँच लाख बराबरको फूल बिक्री गर्दै आएका छन । मकवानपुरको मनहरिमा व्यावसायिक फूल खेतीको सुरुवात गर्ने उनी पहिलो किसान पनि हुनुहुन्छ ।

उनले उत्पादन गरेकाे सयपत्री फूल मनहरी, हेटौँडा, नारायणघाट, गोरखादेखि काठमाडौँसम्म जाने गरेको छ । उनले सयपत्री फूल प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपियाँसम्ममा बिक्री गर्ने गरेको बताए । यस वर्षको तिहारमा उनले सयपत्री बिक्रीबाट पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाए ।

व्यावसायिक फूल खेतीसँगै उनले कागती, ड्रागन र कुरिलो खेतीबाट मनग्य आम्दानी गरिरहेका छन । विषादी, रासायनिक मल र कुनैपनि प्रकारको भिटामिन प्रयोग नगरी अर्गानिक उत्पादन गरेर वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्न उनी सफल भएका छन । गाेरखापत्रबाट