हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको गाउँसभाको ११ औं अधिवेशन शुक्रबार भएको छ ।

गाउँसभा उद्दघाटन कार्यक्रमकै बिच गाउँपालिकाले विद्युतीय सुशासन प्रणालीकोसमेत सुरुवात गरेको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री चेपाङसहित गाउँपालिकाका जनप्रतिनिधिले विद्युतीय सुशासन प्रणालीको उद्दघाटन गरेका हुन् ।

सुशासन प्रणालीअन्तर्गत वडागत जनसंख्या विवरण, धर्म, साक्षरतालगायत घरमुलीको फोटोसहितको विवरण अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ । अनलाइनमार्फत नै गाउँपालिका अध्यक्षलाई गुनासो राख्नेदेखि न्यायिक समितिमा उजुरी गर्न सकिने व्यवस्थासमेत गरिएको छ । सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य संस्थाको विवरण पनि अनलाइनमार्फत नै हेर्न सकिने गरी व्यवस्था गरिएको छ ।

यस्तै गाउँपालिकाले भूउपयोग नीति तथा भूमि व्यवस्थापन योजना पनि बनाएको छ । गाउँसभाबाट पारित उक्त नीतिको पनि शुक्रबार नै विमोचन गरिएको थियो । गाउँसभाको बैठकमा चालु आर्थिक वर्षको बजेट संशोधन प्रस्तावसमेत पारित गरिएको थियो । गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको हो । कार्यपालिका सदस्य सञ्जय कोइरालाले गाउँपालिकाको अर्धवार्षिक समीक्षा प्रस्ताव सभामा पेश गरेका थिए । प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।

यस्तै न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा न्यायिक समितिको नाम अनुमोदन प्रस्ताव पनि पारित गरिएको छ । यस्तै कार्यपालिका सदस्य बाबुलाल स्याङ्तानले पेश गरेको २०७७÷७८ सम्मको बेरुजू संपरीक्षणको लागि महालेखा परिक्षकको कार्यालयलाई प्रस्ताव गर्ने सम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट पारित भएको छ । त्यसैगरी गाउँसभामा कार्यपालिका सदस्य सूर्यबहादुर मोक्तानले प्रस्तुत गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन अन्तिम नतिजा सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको गाउँसभा उद्दघाटन कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष निर्मला हिमडुङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र वर्तौला लगायतकाको उपस्थिती रहेको थियो ।

तस्विर सौजन्यः राक्सिराङ गाउँपालिका