हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौरमा बासुदेव बहुउद्देश्यीय व्यापारीक भवनको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका नगर प्रखुम हरि बहादुर महतले भवनको शिलान्यास गरेका हुन् ।

वर्षौदेखि प्रयोगविहीन अवस्थामा रहेको हेटौंडा वासुदेव सभागृहलाई भत्काएर हेटौंडा उपमहानगरपालिकाले बहुउद्देश्यीय भवन निर्माणको थालनी गरेको छ । भवन भत्काएर ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा १३ तले बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्न उपमहानगरपालिकाले लामा–रसुवा–बानियाँ जेभीसँग ठेक्का सम्झौता गरिसकेको छ । ७७ करोड ९३ लाख ७२ हजार लागत अनुमान गरिएकोमा निर्माण कम्पनीले ४७ करोड ९३ लाख ७२ हजारमा ठेक्का सम्झौता गरेको हेटौंडा उपमहानगरपालिकाका इन्जिनियर सत्यनारायण साहले बताए ।

कुल लागतमा ३८ दशमलव २८ प्रतिशत घटेर निर्माण कम्पनीले ठेक्का पारेको हो । १३ तले भवनमा दुई तलाको अन्डरग्राउन्ड, चारतिरबाट लिफ्ट, दुईवटा भ¥याङ, सबैभन्दा माथि भ्यु टावर निर्माण गरिने छ  । तीन वर्षमा निर्माण सकिने गरी सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख महतले चुनाब उठ्नु भन्दा अगाडी आम जनतामाझ घोषणापत्र मार्फत गरेको बाचा अनुसार नै भवन निर्माणको सुरुवात गरेको बताए । भवन निर्माण पश्चात उपमहानगरपालिकाको आन्तरिक स्रोतमा पनि बृद्धि हुने उनले बताए । घोषणापत्रमा उल्लेख गरेका भन्दा धेरैनै काम गर्न सफल भएको मेयर महतको भनाई छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले बागमती प्रदेशको राजधानी हेटौंडा र हेटौंडाको राजधानी हेटौंडा वडा नम्बर ४ भएको बताए । उनले वडा नम्बर ४ मा भएको विकासले नै हेटौंडाको बास्तविक विकास झल्काउने दाबि गरे ।

१६ वर्षअघि दुई करोड ५० लाख लागतमा निर्माण गरिएको संरचना प्रयोग नै नगरी भत्काइएको छ । ०६२ मा तत्कालीन हेटौँडा उपमहानगरपालिकाले निर्माण गरेको हेटौँडा– ४ हुप्रचौरस्थित वासुदेव सभागृह भत्काइएको हो । एकपटक पनि प्रयोग नगरी बेवारिसे अवस्थामा छाडिएको संरचना भत्काएर उपमहानगरपालिकाले नै बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको छ ।

भवन निर्माणमा त्रुटि देखिएको र थप दुई करोड लगानी गरे मात्रै प्रयोगमा ल्याउन सकिने भएपछि भत्काएर व्यावसायिक कम्प्लेक्स सञ्चालन गर्ने उद्देश्यले बहुउद्देश्यीय भवन निर्माण अघि बढाइएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले बताए । उपमहानगरले आयस्रोत वृद्धि गर्ने लक्ष्यसहित मनोरञ्जनका लागि कमर्सियल कम्प्लेक्ससहितको भ्यू टावर निर्माणको थालनी गरेको हो ।

कमल थापा गृहमन्त्री र मधु अधिकारी नगर प्रमुख हुँदा ०६२ मा सभागृह भवन निर्माण थालिएको थियो । पहिलो चरणमा आर्थिक वर्ष ०६२/६३ मा ४३ लाख खर्चेर पिलर उठाएको, दोस्रो चरणमा आर्थिक वर्ष ०६३/६४ मा ३९ लाख खर्चेर कम्पाउन्ड निर्माण र भवनमा छाना राखिएको थियो । तेस्रो चरणमा आर्थिक वर्ष ०६६/६७ मा भवनको पर्खाल लगाएपछि नगरपालिकाले लगानी गर्नै बन्द गरेको थियो ।

एक बिघा नौ कट्ठा क्षेत्रफल रहेको सभागृहको क्षमता चार सय ९२ जना रहेको थियो । निर्माण सुरु गर्दा वीरेन्द्र सभागृह नाम राखिए पनि ०६२/६३ को जनआन्दोलनमा सहिद घोषणा गरिएको वासुदेव घिमिरेको नाम जोडेर ‘वासुदेव सभागृह’ नामकरण गरिएको थियो ।