काठमाडौं । ‘विधागत पत्रकारिता’ हाते पुस्तक सार्वजनिक भएको छ।  बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले प्रकाशित गरेको पुस्तक शुक्रबार सार्वजनिक भएको हो। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री मन्त्री गङ्गानारायण श्रेष्ठ, सचिव ध्रुव गैडा, सञ्चार रजिष्ट्रार रेवती सापकोटा र वरिष्ठ पत्रकार प्रा. रामकृष्ण रेग्मीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

विनोद ढुंगेलले सम्पादन गरेकाे पुस्तकमा विभिन्न १९ विधागत पत्रकारितालाई समेटिएको छ। पुस्तकमा रामकृष्ण रेग्मी, ध्रुवहरि अधिकारी, अनन्तराज लुइँटेल, के.पी. ढुंगाना, हरिबहादुर थापा, डा. सुरेश आचार्य, डा. श्रीराम पौडेल, कुवेर चालिसे, मुराहरि पराजुली, विकास थापा, डा. बद्रीप्रसाद ओझा, एकराज पाठक, दीपक सापकोटा, कपिल काफ्ले, नितु पण्डित, कुमार यात्रु, छत्र कार्की, रोशन राउत र रामनाथ घिमिरेका विधागत १९ वटा लेख प्रकाशित छन्।

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गदै मन्त्री श्रेष्ठले पुस्तकले नेपाली सञ्चार क्षेत्रमा अलग्गै स्थान राख्ने बताए । ‘‘यो पुस्तकले नेपालको सञ्चार क्षेत्रमा अलग्गै स्थान राख्नेछ’’, मन्त्री श्रेष्ठले भने, ‘‘यो एउटा संग्रहणीय पुस्तक बन्नेछ भन्ने मेरो विश्वास छ।’’

उनले प्रादेशिक संरचनाले सिर्जनशील काम गरेमा मात्र संघीयता बलियो हुने बताउँदै भने, “प्रादेशिक संरचनालाई सिर्जनात्मक र गम्भीर प्रकृतिका काम कारबाहीलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन प्रदेश सरकारले उत्साहित गर्छ।  प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै सङ्घीयता बलियो हुन्छ।” उनले पत्रकार ज्ञान उत्पादन गर्ने बौद्धिक श्रमिक भएको बताए ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडाले सञ्चार क्षेत्रको व्यापकताका लागि बागमती प्रदेशमा मन्त्रालय नै छुट्टै हुन आवश्यक हुने बताए । उनले सञ्चार रजिस्ट्रारको कार्यालयले गरेको काम महत्त्वपूर्ण भएको धारणा राखे ।

लेखक तथा प्राध्यापक रामकृष्ण रेग्मीले पत्रकारिताका धेरै विधाहरू रहेको तर समाचार कक्षले पचाउन नसकिरहेको बताए । “यो पुस्तक सातै प्रदेशमा पुर्‍याउन सक्दा राम्रो हुन्छ। पुस्तकमा नसमेटिएका कुराभन्दा पनि समेटिएका कुरालाई सकारात्मकरूपमा लिएर त्यसलाई ग्रहण गर्दै अगाडि बढ्नुपर्छ। विशेषज्ञको अनुभवलाई सर्वसाधारणसम्म पुर्‍याउन यो पुस्तक महत्त्वपूर्ण छ”, प्राध्यापक रेग्मीले भने । पुस्तकका सम्पादक ढुंगेलले यो पुस्तक सबैथोक नभए पनि एउटै पुस्तकमा विभिन्न विधाको विषय पढ्न पाइने बताए ।

सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चाहेर पनि केही विधागत पत्रकारितालाई समेट्न नसकेको उल्लेख गर्नुभयो। कतिपय पत्रकारले समयमा लेख उपलब्ध नगराउँदा केही महत्त्वपूर्ण विधा पुस्तकमा छुटेको उनको भनाइ थियो। ‘‘कतिपय कानुनी झन्झट, कतिपय लेख समयमा उपलब्ध नभएपछि केही विषय यो पुस्तकमा छुटेका छन्। शिक्षा, संसदीय मामिला, वातावरण जस्ता विषय छुटेका छन्’’, रजिष्ट्रार सापकोटाले भने ।   केही विधागत विषय लेख्नका लागि जिम्मेवारी पाएका व्यक्तिले अन्तिममा धोका दिएका कारण समेट्न नसकेको उनको भनाइ छ।

कार्यक्रममा पुस्तकका लेखक डा. सुरेश आचार्य, कुबेर चालिसे, बद्री प्रकाश ओझा, नितु पण्डित, दीपक सापकोटा, डा. श्रीराम पौडेललगायतले पुस्तक र विधागत पत्रकारिताको विषयका लेख तयार गर्दाको अनुभव सुनाए । गाेरखापत्रबाट