हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले सुशासन, समृद्धि र सामाजिक न्यायको एजेन्डासहित वर्तमान सरकार अगाडि बढेको बताएका छन । प्रेस सेन्टर नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताले सबै पार्टी मिलेर राष्ट्रिय एजेन्डामा एक ढिक्का भएर काम गर्न मत दिएको बताए ।

प्रचण्ड नेतृत्वको सरकारले तीन एजेण्डालाई प्राथमिकता दिएर काम गरेको बताउँदै सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाइ असफल बनाउन घेराबन्दी भैरहेको भन्दै उनले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने सस्कारको विकास जरुरी रहेको बताए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएको यही पुस १० गते एकबर्ष पुग्दैछ, एक बर्ष कस्तो रह्यो भन्ने बारेमा जनतालाई अपिल र सम्बोधन गर्ने तयारी भएको छ,’–उपमहासचिव पुनले भने ।

उपमहासचिव पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद विगठन गर्नुनै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताए । त्यसएता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै पुनले अब माओवादी कमब्याकको चरणमा रहेको बताए । एमाले पनि २०५१ मा फुटेपछी पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताए ।

माओवादी नेतृत्वमा रहेको सरकारको काम कामकारबाही सन्तोष जनक नआएको रिपोर्ट कार्डहरु बाहिर आएको सन्दर्भमा उनले अब सरकारले स्पिड लिने विश्वास व्यक्त गरे । पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वभाविक रहेको बताउदै उनले आगामी चौमासिकमा सरकारको स्पिड बढने उनको भनाइ थियो । सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सहि रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुनर्निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । देश आर्थिक मन्दीमा गएको, श्रीलंका भएको भन्ने हल्ला गलत रहेको उहाँले स्पष्ट पारे ।

प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, माओवादी केन्द्र प्रदेश उपाध्यक्ष एवं प्रदेश सांसद प्रेम बहादुर पुलामी, जिल्ला संयोजक सर्केश घलान, प्रेस सेन्टर केन्द्रीय सदस्य कृष्ण सारु मगर लगायतकाको सभागिता रहेको थियो ।