हेटौंडा । खेर गईरहेको जडीबुटीबाट मकवानपुरका वनकरीया महिलाले अर्गानिक साबुन उद्योग खोलेका छन । घ्युकुमारी र तितेपातीबाट वनकरीया र चेपाङ महिला मिलेर साबुन बनाएका हुन । स्थानीयस्तरमा नै पाइने घ्युकुमारी र तितेपातीको प्रयोग गरेर नुहाउने, मुखधुने साबुन बनाएका छन ।

दुई दशकअघि जंगलबाट एकीकृत बस्तीमा सरेका वनकरीयाले उद्योग नै दर्ता गरेर काम सुरु गरेका छन । वनकरीया चेपाङ महिला साबुन उद्योग दर्ता गरेर उत्पादन सुरु गरेको सन्तोषी वनकरीयाले बताइन् । २५ जना वनकरीया तथा चेपाङ महिला मिलेर सावुन उद्योगको थालनी गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएपछि आयआर्जनमा आफूहरु जोडिने अवसर प्राप्त भएको सन्तोषी वनकरीयाले बताइन् ।

साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेकोले अबको सबैभन्दा आवश्यक पाटो कच्चापदार्थ र बजारीकरण नै भएको उनीहरुको धारणा छ । ‘सावुनका लागि कच्चा पदार्थ निम रोप्न थालेका छौं, घ्यू कुमार बारीमा अलिअलि रोपेका छौं, तितेपाती वरीपरी बगर, बाटोतिर पाउँछौं,’– संन्तोषीले भनिन् ।

तालिम दिएको संस्थाले फर्मा र साबुन बनाउन आवश्यक सामाग्री र दुईलाख लगानी गरेको छ । उनीहरुले सावुन बनाउन बुटबलबाट फर्मा ल्याएका थिए । ‘सावुन बनाउन मेहनत पर्छ, तितेपाती टिप्न जानुप¥यो, केलाउनु प¥यो, पकाउनु प¥यो–’सन्तोषीले भनिन् । यहाँ उत्पादन गरिएको साबुन घाउ खटिरा, चिलाउने समस्या र छालाका लागि राम्रो हुने उनीहरुको भनाई छ ।

घ्युकुमारी र तितेपातीको पेष्ट बनाएर, झण्डै एक घण्टा पकाएपछि त्यसलाई साबुन बनाउने फर्ममा हालिन्छ । मञ्चले समूहको लागि साबुन निर्माणार्थ ५ वटा फर्मा दिएको छ जसमा कुनैमा एकपटकमा ६ वटा साबुन बनाउन मिल्छ भने कुनैमा एकैपटक २४ वटासम्म साबुन बनाउन सकिन्छ । सानो, मध्यम र ठुलो सावुन उत्पादन गरेका वनकरीया महिलाले २० देखि ६० रुपियाँ सम्ममा सावुन बेच्ने गरेका छन । तालिम दिन सहयोग गर्ने संस्थाले नै सावुन किनिदिने गरेको उनीहरुको भनाई छ । लगानी पूजी न्यून हुँदा उत्पादन पनि न्यून भएकाले बजारीकरण गर्न समस्या भएको उनीहरुको भनाई छ । ‘सावुनको बजारीकरणको समस्या छ, हामी बजारीकरणमा जान सकेका छैनौं, साना किसान सहकारीमा दिएका छौं र राष्ट्रिय आदिवासी महिला मञ्चले साबुन किनिदिएको छ, बाहिर धेरै मार्केटिङ गर्न सकिएको छैन’,–सन्तोषीले भनिन् ।

१८ बर्षदेखि सुकुम्बासीको रुपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरीयाको आफ्नो नाममा जग्गा छैन । अल्पसंख्यक वनकरीयाले जंगलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको र यही बसोबास गरेकै स्थानमा सामूहिक लालपूर्जा माग गर्दै आएका छन् । मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् । आर्थिक रुपमा विपन्न उनीहरु पर्सा वन्यजन्तु आरक्ष भित्र निहुरो खोजेर बेच्ने तथा ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले जीविका चलाउन निकै सहयोग भएको छ ।