हेटौँडा । चित्लाङ–थानकोट सडकको स्तरोन्नतिप्रति चासो देखाउँदै मकवानपुरमा जनप्रतिनिधि र दलका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा सामूहिक रुपमा भेटेर मकवानपुरका जनप्रतिनिधि र दलका नेताहरुले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा आठदेखि १० करोड रुपियाँ बजेट थप गर्न माग गरेका हुन् ।

मकवानपुरको सांसद महेशकुमार बर्तौलाले सरकारले विनियोजन गरेको बजेट ज्यादै कम भएकाले थप श्रोतको सुनिश्चिततासहित बहुवर्षीय ठेक्का अगाडि बढाउन आग्रह गरिएको जानकारी दिए । उक्त सडक स्तरोन्नतिका गर्न चालु आवमा दुई करोड रुपियाँ मात्र विनियोजन गरी ठेक्का लगाइएको छ ।

थप बजेट सुनिश्चित गर्न माग गरेपछि प्रधानमन्त्री दाहालले चालु आवमा बजेट थप गर्ने प्रतिबद्धता जनाउनु भएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । प्रधानमन्त्रीसँग प्रतिनिधि सभा सदस्य बर्तौला, संविधान सभा सदस्यद्वय रामनारायण बिडारी र सुभाष चन्द्र ठकुरी, नेपाली कांग्रेसका नेता जयराम लामिछाने, थाहा नगरपालिका प्रमुख विष्णु विष्ट, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष पुडासैनी, थाहा नगरपालिका ९ का वडाध्यक्ष राजकुमार बलामी, नेकपा एमाले थाहा नगर कमिटीका सचिव रामकृष्ण बस्नेतलगायतले संयुक्त रुपमा भेट गरेका थिए ।

चित्लाङ–थानकोट सडक खण्डको काठमाडौँको सेतो पहरामा शनिबार चित्लाङतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।