रक्तचाप, उचाइ र वजन परीक्षण गराएर मेसिनको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी ।

हेटौंडा । सचेतना जगाउने उद्देश्यले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले रक्तचाप, उचाइ र वजन मापन गर्ने डिजिटल मेसिन हस्तान्तरण गरेको छ ।

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले रक्तचाप, उचाइ र वजन परीक्षण गराएर मेसिनको उद्घाटन गरे । स्वास्थ्य मन्त्रालय आउने सेवाग्राहीहरुले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन सक्ने उनको भनाई छ । मन्त्रालयको मुख्यद्वारमा राखिएको मेसिनमार्फत यहाँ सेवा लिन आउने सेवाग्राहीले लाभ लिन सक्ने मन्त्री जोशीले बताए ।

समयमै रक्तचाप जाँच गरी त्यसलाई नियन्त्रण गर्न नसक्दा उच्च रक्त चापले मिर्गौला, मुटु, आँखा र मस्तिष्कमा गम्भीर असर पारी जीवनभरि अपांगता पनि बनाउन सक्ने चिकित्सकको भनाई छ । गलत जीवनशैलीको कारण उच्च रक्तचापको समस्या बढ्दै गएको चिकित्सकले औंल्याएका छन् । शारीरिक व्यायमको कमी, अत्यधिक तनाव, मदिरा सेवन, प्रदूषण, चिल्लो, गुलियोयुक्त खाना, बढी नुन भएका खाना, तौल नियन्त्रणमा नराख्नु, जंकफुडको प्रयोग, धूमपान लगायत उच्च रक्तचापका मुख्य कारण हुन् ।

मध्यम आय तथा बिकशिल राष्ट्रहरुमा उच्च रक्तचाप र यसबाट हुने जटिलताहरु जस्तै मस्तिस्कघात ,हृदयघात ,मुटु तथा रक्तनली सम्बन्धि रोग, दीर्घ मृगौला रोग र अल्प आयुमै मृत्युको प्रमुख कारण रहेको र सो रोगहरुको व्यवस्थापनमा राज्य तथा जनताको ठुलो धनराशि खर्च हुनुका साथै अल्प आयुमै मृत्युको प्रमुख कारण रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

नेपालमा करिब ४७ लाख मानिसहरुमा उच्च रक्तचापको समस्या देखिएको अनुमान गरिए तापनि मात्र १० लाख लाई आफ्नो उच्चरक्तचाप अवस्थाको बारेमा जानकारी रहने गरेकोमा ४ लाखजनाले मात्र उच्च रक्तचापको औषधि सेवन गरेको र मात्र २ लाख जनामा उच्च रक्तचाप नियन्त्रणमा रहेको प्रमाण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले नसर्ने रोगहरुबाट हुने अल्पायु मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य प्राप्तिका लागि विभिन्न कार्ययोजना, रणनीति तथा कार्यक्रमहरु संचालनमा ल्याएको छ । लक्ष्य प्राप्त गर्न उच्च रक्तचापको भार २५ प्रतिशतले घटाउन अनिवार्य रहेको स्वास्थय मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसअघि कोशी र मधेश प्रदेशमा मेसिन हस्तान्तरण गरिसकेको छ । डब्ल्युएचओले सातै प्रदेशमा यो उपकरण दिने योजना बनाएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्री जोशी, प्रदेश सचिव बद्री बहादुर खड्का, मन्त्रालयका प्रवक्ता डा.खगेश्वर गेलाल, सुचना अधिकारी डा.रबिन भुषाल, डब्ल्युएचओका डा.रहिस पोखरेल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुचना अधिकारी अमरसिंह अधिकारी, हेटौँडा अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाई लगायतकाको सहभागिता रहेको थियो ।