हेटौँडा काठमाडौँ जोड्ने भैसे भीमफेदी सडक खण्डको अनुगमन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्विरः अनिल पराजुली

हेटौंडा । हेटौँडा काठमाडौँ जोड्ने भैसे भीमफेदी सडक खण्डको चैत सम्म निर्माण कार्यसम्पन्न हुने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन । बुधवार भीमफेदी सडक खण्डको अनुगमन गर्दै अबको तीन महिनाभित्र काम सक्नेगरी निर्माण कम्पनीलाई निर्देशन दिएका छन ।

डबल लेनको ११ दशमलव ५१ किलोमिटर लम्बाई रहेको सडकको अनुगमनको क्रममा उनले आफुले प्रदेश सरकारको कार्यभार सम्हाल्दै गर्दा उक्त सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको जानकारी दिए । २०७७ सालमा निर्माण सुरु गरिएको भीमफेदी सडक संघीय राजधानी र तराई जोड्ने मार्गको रुपमा रहेको छ ।

सडकको अनुगमन गर्दै बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युबराज दुलालले विगतमा मुआब्जाको समस्याले निर्माण कार्य ढिलो भएपनि स्थानीय जनतासँगको छलफल पश्चात ठेक्का लगाएकाले निर्माण कार्यले गति लिएको बताए । भैसे भीमफेदी सडकको ८० प्रतिशत काम सकिएको बताउँदै अब २० प्रतिशत मात्रै काम गर्न बाँकी रहेको उनले जानकारी दिए । सडक चौडा र टेवा पर्खाल, ड्ेन सहित करिव ९५ प्रतिशत काम सकिएको छ । हालसम्म २ किलोमिटर कालोपत्रे निर्माण पनि सम्पन्न भएको छ ।

बागमती प्रदेश यातायात पूर्बाधार निर्देशनालयका ईञ्जिनियर हरीप्रसाद ओझाले अनुमानित लागत ६३ करोड ७० लाख ६५ हजार ४ सय ४७ रुपैंया ५ पैसा रहेकोमा ३८ करोड ७८ लाख ८ सय ९७ रुपैंयामा सम्झौता गराएर काम भईरहेको जानकारी दिए । उक्त सडकमा पर्ने पाँच पुल मध्ये ४ वटा निर्माणाधिन अवस्थामा रहेको छ भने एकवटा पुल निर्माण सम्पन्न भईसकेको ओझाले बताए । २०७७ साल असार २४ गते ठेक्का लगाएको आयोजनाको दुई पटक म्याद थप थप भएकोमा अब काम अन्तिम चरणमा रहेको ओझाको भनाई छ ।