हेटौंडा । मकवानपुर प्रहरीले गोली, पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, एक थान गोली र लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटे चेकपोस्टबाट प्रहरीले बाजुराको हिमाली नगरपालिका–१ का ३१ वर्षीय देवबहादुर थापा र नवलपरासी (सुस्ता पूर्व)को कावासोती नगरपालिका– ५ बस्ने ५७ बर्षीय वीरबहादुर थापामगरलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई हेटौँडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे.१ख २५३७ नम्बरको बसको सिटमुनि राखेको झोलाबाट एकथान पेस्तोल, एक थान गोली र दुईवटा प्लास्टिकको झोलामा सेतो रंगको पाउडरजस्तो देखिने धुलो पदार्थ करिब दुई किलो सात सय ग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

शुक्रबाररै प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटेमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा. प्र ०१–००१ ख ५८६८ नम्बरको इलेक्ट्रिक गाडीबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले तनहुँको व्यास नगरपालिका–६ का ३२ वर्षीय बमबहादुर विकले दुवै खुट्टाको घुँडामुनि र तिघ्रामा टेपले बेरेर ल्याएको अवस्थामा डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र नुफिन २५ एम्पुल बरामद गरेको छ ।

सोही बसमा आएका नवलपरासीको देवचुली नगरपालिका– ७ का ३० वर्षीय अर्जुन विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले कम्मरको भागमा लुकाएर ल्याएको अवस्थामा लागुऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ६ एम्पुल, नुफिन ६ एम्पुल फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका चारैजनालाई थप अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता भण्डारीले बताए ।