हेटौंडा । मकवानपुर प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको थाहा नगरपालिका वडा नं.८ दाम्गाडे कच्ची सडकबाट बोलेरो गाडी सहित दुईवटा बोरामा कार्टुन टेपले प्याकिङ गरेको ६ प्याकेटको ५२ किलो ९०० ग्राम लागु औषध गाँजासहित दुई जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रसुवा पार्वतीकुण्ड गाउँपालिका–५ घर भई हाल थाहा नगरपालिका–९ नारायणहिटी बस्ने २७ बर्षीय प्रभात घले र थाहा नगरपालिका–३ दमकी घर भई हाल वडा नं.६ बज्रबाराही बस्ने ३२ बर्षीय रण बहादुर थिङ रहेका छन् ।

सोमबार दाम्गाडेस्थित भित्री सडकखण्डमा गल्छीबाट पालुङतर्फ आउँदै गरेको बा १५ च ३९२९ नम्बरको बोलेरो चेक जाँच गर्दा लागु औषध गाँजा सहित चालक घले र थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । गाँजा, बलेरो गाडी सहित दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।