कृषि उत्पादन बढाउन मकवानपुरको थाहाका किसानलाई कृषि सामग्री वितरण गरिर्दै ।

हेटौंडा । कृषि उत्पादन बढाउन मकवानपुरको थाहाका किसानलाई कृषि सामग्री वितरण गरिएको छ । थाहा नगरपालिकाले ‘मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम’ अन्तर्गत पालिकाको १२ नं. वडाका किसानलाई कृषि सामग्री वितरण गरेको हो ।

छनोट भएको सुन्तलाबारी कृषक सहकारी थाहा–१२ अन्तर्गतका किसानलाई ७ एच.पि. क्षमताको पेट्रोल प्रयोग हुने ३९ वटा मिनिटिलर, स्प्रेयर २२ थान, डिजिटल काँटा तराजु १० थान, पाइप ३ सय मिटर २० एमएम २५ थान, मल्चिङ प्लास्टिक १० रोल, ग्राडेन पाइप १५ केजी, सिल्पोलिन प्लास्टिक ७ थान, स्प्रीङकल १०० थान, एप्रोन सेट १५ थान, वितरण गरिएको कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । चालु आवको २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिएको छ ।

तरकारी पकेट कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सञ्चालन भएकोे मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रमबाट नगरको कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले तीन स्थानमा कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ । किसानले कृषि उपकरण पाएपछि खुसी भएका छन । दैनिक जीवनशैली नै कृषिमा आधारित भएपश्चात् प्राप्त उपकरणले कृषि कर्ममा लाग्न थप उत्साह थपिएको सुन्तलाबारी कृषि सहकारीका अध्यक्ष क्षेत्र बहादुर आले मगरले बताए ।

थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताए । प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले अब परम्परागत कृषि प्रणाली छोडेर आधुनिक खेती तर्फ उन्मुख हुन र उत्पादन बढाउनको लागि नगरपालिकाले थप सहयोग गर्ने स्पष्ट पारे ।

थाहाको तीन वटा वडामा लागू भएको मेयर वडा स्तरीय तरकारी पकेट कार्यक्रम थाहा ९ र १२ मा वितरण भैसकेको छ भने केही दिनमा वडा न ११ मा बितरण गरिने थाहा नगरपालिका कृषि शाखाले जनाएको छ ।