मकवानपुरमा रहेका एम्वुलेन्स चालकलाई जलनको प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम प्रदान गरिएको छ । रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजना तथा किर्तिपुर अस्पताल काठमाडौँको प्राबिधिक सहयोगमा तालिम दिइएको हो ।

रोटरी क्लब अफ मकवानपुर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,एम्वुलेन्स इकाई कमिटी ,हेटौंडा मकवानपुरको सहयोगमा भएको तालिम कार्यक्रममा १५ जना एम्बुलेन्स चालकको उपस्थिति रहेको थियो ।

तालिम सहजकर्ता तथा प्रशिक्षक किर्तिपुर अस्पतालका सिनियर कार्यक्रम म्यानेज डाक्टर हेमन्त ध्वज जोशी र डाक्टर कैलाश खाकी श्रेष्ठले आगोले पोल्ने समस्या बारे रोकथाम, आगोले पोलेमा गरिने प्राथमिक उपचार र बच्ने उपाय बारे प्रशिक्षण दिएका थिए ।

पोलेका घाउको समस्या हुँदा धेरै महँगो उपचार,लामो समय अस्पतालमा भर्ना भएर बस्नु पर्ने,ज्यान समेत जान सक्ने र मृत्यु भएन भने पनि अंगभंग र कुरुप हुने जस्ता समस्या हुने उनले बताए ।

प्रत्येक वर्ष जलनको बिरामी बढ्दै गएको र नेपालमा आगोले पोलेको समस्याको ५६ हजार बिरामी रहेको र २२ सयको मृत्युनै हुने गरेको डाक्टर जोशीले बताए ।

रोट्र्याक्ट क्लब मकवानपुरका अध्यक्ष राजन कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा किर्तिपुर अस्पतालका सिनियर कार्यक्रम म्यानेजर डाक्टर हेमन्त ध्वज जोशी, डाक्टर कैलाश खाकी श्रेष्ठ ,रोटरी क्लब अफ मकवानपुरका सचिब मनोज ढोडारी, रोटरी क्लब अफ मकवानपुरका कोषाध्यक्ष पवन तिमल्सिना,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एम्बुलेन्स इकाई कमिटी हेटौंडाका अध्यक्ष जनार्दन नेपाल,रोट्र्याक्ट क्लब मकवानपुरका निवर्तमान अध्यक्ष प्रदिप राइ लगायतको उपस्थिति रहेको थियो ।