हेटौंडा । बागमती प्रदेशको प्रदेश सभा सचिवालयले तयार पारेको ‘प्रदेश सभा दर्पण’ २०८० विमोचन र मोवाइल एप सञ्चालनमा ल्याइएको छ । बागमती प्रदेश सभाको छैटौं वार्षिकउत्सवमा बिहीवार हेटौँडामा पुस्तक विमोचन गरिएको हो ।

प्रदेश प्रमुख यादव चन्द्र शर्मा, मुख्यमन्त्री शालिकराम जम्कट्टेल, पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, सभामुख भुवन कुमार पाठक, उपसभामुख अपसरा चौलागाईं लगायतकाले संयुक्त रुपमा प्रदेशसभाले गरेका सबै कामहरुको विवरण समेटिएको पुस्तक विमोचन गर्नुभएको हो ।

११० पृष्टको पुस्तकमा प्रदेश सभा, सभाले गरेका महत्वपूर्ण कार्य, पदाधिकारी तथा सदस्य, बिषयगत समिति, राजनीतिक दल, विधेक तथा अध्यादेश, कार्यक्रम तथा गतिबिधि र बागमती प्रदेश सभा सचिवायको विवरण समेटिएको छ ।

त्यस्तै बागमती प्रदेश सभा मोवाइल एप पनि सञ्चालनमा ल्याईएको छ । वार्षिकोत्सवबाट सञ्चालनमा ल्याइएको एपमा प्रतिक्रिया, नागरिक छलफल, समाचार र सूचना, कार्य सूची, प्रेस विमोचन, पारित विधेक, समिति लगायतका बिषयहरु समेटिएका छन । साँसद र नागरिकका लागि यो एप बनाइएको उल्लेख छ ।