![](https://anirudrakhabar.com/wp-content/uploads/2024/02/Manahari-1024x683.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2024/02/Manahari-1024x683.jpg)
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिको सक्रियतामा हुन लागेको बाल बालविवाह रोकिएको छ । कोशी प्रदेश उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ८ मा बालविवाह हुन लागेको सूचना पाएपछि मनहरीका जनप्रतिनिधि र सरोकारवाला निकायको सक्रियतामा उक्त विवाह रोकिएको छ ।
माघ १४ गते गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्याल, सिविन नेपाल मकवानपुरका संयोजक झविन्द्र ज्ञवाली, बाल अधिकार समिति मनहरीका सदस्यहरु देवकी ढुङ्गाना, अस्मिता कार्की, वाल सन्जालका सल्लाहकार अन्जन सापकोटा उदयपुर गएर त्यहाको जनप्रतिनिधिसँग समन्वय गरी घरमा पुगेर परिवारलाई सम्झाई बुझाई गरेर बालिकालाई १८ माघमा घर फर्काइएको थियो ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं.५ की १६ वर्षकी बालिका र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ८ का २१ बर्षका थिए । बालिका १८ वर्षभन्दा कम उमेरको भएकाले बालविवाह हुन लागेको गोप्य सूचनाका आधारमा उक्त बालविवाह रोकिएको थियो ।
सामाजिक सञ्चालबाट प्रेम सम्बन्धमा पुगेका उनीहरु मनहरीबाट पुष २५ गते भागेर उदयपुर पुगेका थिए । २७ गते मनहरी बालसञ्जालले जानकारी पाएर वडा र पालिकामा ध्यानाकर्षण पत्र बुझाएपछि उहाँहरुको खोजी भएको थियो । उमेर नपुगेकाले उमेर पुगेपछि मात्रै विवाह गर्न परिवारले बालिकालाई बुझाउने प्रयास गरेपनि बालिकाले आत्महत्या गर्ने धम्की दिएको र पछि मनहरीबाट उदयपुर भागेको पारिवारीक स्रोतले जानकारी दिएको छ । बालिका बाल क्लवल सञ्जालको सदस्य समेत रहेकी थिइन । बालिकाको आमा मनहरी गाउँपालिका पूर्व कार्यपालिका सदस्य समेत हुन ।
नेपालमा २० वर्षभन्दा कम उमेरमा गरिने जस्तोसुकै विवाहलाई कानुनले अवैधानिक मानेको छ । नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने/गराउने सबै पक्षलाई ३० हजार रुपियाँसम्म जरिवाना र तीन वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । पालिकामा चालु आर्थिक बर्षमा १४ वटा बालविवाह हुँदा ११ वटा बालविवाह रोक्न सफल भएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्