हेटौंडा । विभिन्न सामानहरू डेलिभरी गर्ने भन्दै अनलाइनमार्फत ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले दुईजना पक्राउ गरेको छ ।

ह्वाट्सएपबाट ठगी गरेको आरोपमा रौतहट मोलापुर नगरपालिका वडा नं. २ मर्यादपुर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. १५ भिश्वा बसपार्क बस्ने २१ बर्षिय रोहित भन्ने मनिष कुमार जैसवाल र बीरगञ्ज महानगरपालिका वडा नं. १४ बस्ने २० बर्षिय गौतम खत्रीलाई पक्राउ गरेको हो ।

फागुन २१ गते सोमवार जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा उनीहरुलाई पक्राउ गरि मकवानपुर जिल्ला अदालत हेटाँैडाबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक
(डिसपी) लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रवक्ता भण्डारीका अनुसार फरक–फरक मितिमा विभिन्न मोबाईल नं.हरुबाट ह्वाट्सएप मार्फत सस्तोमा आईफोन तथा ईलेक्ट्रोनिक समानहरु बिक्री गर्ने भनि व्यक्तीहरुलाई अनलाईन माध्ययमबाट च्याटमा कुराकानी गरी किस्तामा वा होम डेलीभरीको लागि नागरिकता प्रमाणपत्रको फोटो र हालसालै खिचेको पासपोर्ट साईजको २ वटा फोटो पठाउन लगाउने गरेको प्रहरीको भनाई छ । सोही नागरिकता र फोटोको प्रयोग गरी ईसेवा आईडी बनाई उक्त आईडीमा रकम पठाउन लगाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।