![](https://anirudrakhabar.com/wp-content/uploads/2024/04/mahayagay-2-1024x682.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2024/04/mahayagay-2-1024x682.jpg)
हेटौंडा । पूर्वी मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । जुरेली रङ्गशाला निर्माण समिति बकैया–४ ले रङ्गशाला निर्माणका लागि सहयोग जुटाइरहेको हो ।
करिव तीन बिगाहा क्षेत्रफलमा रहेको यस क्षेत्रमा कबडहल, बास्केटबल, टेबल टेनिस, भलिवल, फुटबल मैदान लगायतका खेल खेलाउने गरी रङ्गशाला निर्माण गर्न लागिएको समितिका अध्यक्ष विमल नेपालले जानकारी दिए । बकैया गाउँपालिका भित्रको खेलमैदान मध्येको जुरेली खेलमैदान उत्कृष्ट भएकाले रङ्गशालाका रुपमा विकास गर्नका लागि जुरेली खेलमैदानका लागि स्थानीय सँग १५ कठ्ठा क्षेत्रफल जग्गा खरिद गरेकाले त्यसको भुक्तानी गर्न महायज्ञ लगाइएको उनले बताए । ‘बजेट सुनिश्चितताका लागि हामीले महायज्ञ लगाएका हौं, सबैले सहयोग गर्नुभयो भने यहाँ राम्रो रङ्गशाला निर्माण हुनेछ ।’
महायज्ञमा सोमवार सम्म १९ लाख ९६ हजार ५८६ रुपियाँ सङ्कलन भएको छ । महायज्ञको पहिलो दिन ७ लाख ५० हजार २१७, दोश्रो दिन ३ लाख र तेश्रो दिन ७ लाख ७२ हजार ८६५ रुपियाँ सङ्कलन भएको समितिका कोषाध्यक्ष प्रल्हाद गौतमले जानकारी दिए । रङ्गशाला निर्माणका लागि करिव डेढ करोडको उठाउने लक्ष्य राखिएको छ ।
महायज्ञमा प्रखर पण्डित कपिलदेव भट्टले कथावाचन गरिरहेका छन । यहाँ दैनिक सयौँको सङ्ख्यामा भक्तजनहरू कथा श्रवण र रङ्गशाला निर्माणका लागि सहयोग उपलब्ध गराउन आइरहनुभएको छ । ३० चैतबाट सुरु भएको महायज्ञ वैशाख ७ गते समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्