हेटौंडा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो पार्टी भनेर नहेप्न चुनौती दिएका छन्।

शनिबार हेटौँडामा आयोजित एकीकृत समाजवादी पार्टी मकवानपुरको ९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी सानो भए पनि विचार र सिद्धान्तमा अरुभन्दा ठूलो भएको दावी गरे।

‘पार्टीको अधिवेशनको तयारी गरिरहँदा हाम्रो पार्टीमा आश्चर्यजनक रुपमा जनसहभागीता बढेको छ। यो हाम्रो पार्टीले बोकेको विचार र सिद्धान्तका कारण भएको हो,’ उनले भने, ‘एकीकृत समाजवादीले भ्रष्टाचाररहित इमान्दार र जनताको सेवालाई राजनीतिको मुख्य मिसन बनाएको छ।’

नेपालले राजनीति ठगी र लुटतन्त्र मच्चाउनेहरुको लागि नभएको भन्दै केहि ठग र लुटेराका कारण दुषित भएको राजनीतिलाई सच्याउने र सुधार्ने जिम्मेवारी एकीकृत समाजवादीको भएको बताए।

‘राजनीतिमा लुट्ने र लुटेराको कुनै ठाउँ छैन । जनतालाई दुःख दिने, लुट्ने र ठग्ने तथा गलत काम गर्नेहरुलाई दण्डित गर्नुपर्छ । र एकीकृत समाजवादीमा पनी केहि त्यस्तो प्रवृति भए दण्डित हुन्छ र गर्नुपर्छ,’ अध्यक्ष नेपालले भने।

एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले नेतृत्वमा अहंकार पलाउँदा विधि, विधान र सिद्धान्त मेटिने बताए। नेतृत्व अहंकारी र व्यक्तिवादी हुँदा जनताको बलिदानको बलमा ल्याएको लोकतन्त्र र संविधान नै झण्डै धरापमा परेको नेपालको भनाइ थियो।

‘अझै पनि लोकतान्त्रिक गणतन्त्र र संविधान तथा संघीयतामाथी चुनौति कायमै छ। व्यवस्था र संविधानका विरोधी शक्तिहरु सक्रिय भएर लागिरेहका छन्। राष्ट्रियतामाथि चुनौति आउने सम्भावना अझै छ,’ उनले भने।

वर्तमान व्यवस्था र संविधान जोगाउन परिवर्तनका पक्षधर शक्तिहरु एकतावद्ध भएर लाग्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ।

समाजवादी मकवानपुरका अध्यक्ष बिष्णु दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजवादीका नेताहरु क्रमश डा.गंगालाल तुलाधर, ललित कुमार बस्नेत, विरोध खतिवडा, मुनु सिग्देल र पार्टीका तर्फबाट नेपाली काग्रेस मकवानपुरका सभापति बुद्ध लामा, माओवादी केन्द्रका मकवानपुर संयोजक भिम पाख्रिन लगायतकाले शुभकामना दिए। शनिवार र आइतवार सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ पत्रिकाबाट 

Visited 135 times, 1 visit(s) today